महोत्तरीमा दिउँसै फिल्मी शैलीमा बैंक लुट्ने गिरोहका एकजना पक्राउ, संलग्न अन्य पाँच जनाको परिचय खुल्यो

महोत्तरीमा दिउँसै फिल्मी शैलीमा बैंक लुट्ने गिरोहका एकजना पक्राउ, संलग्न अन्य पाँच जनाको परिचय खुल्यो


बैंकिङ्ग समाचार, काठमाडौं । 

महोत्तरीमा दिनदहाडै पेस्तोल देखाएर बैंक लुटपाट गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार छन्।

\"\"

उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्न सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको उनले बताए। उनीविरुद्ध हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चलाइएको छ।

डिएसपी गिरीका अनुसार उनीसँगको सोधपुछपछि लुटपाटमा संलग्न अन्य ४/५ जना व्यक्तिहरूको समेत पहिचान खुलेको छ। प्रहरीले उनीहरूको परिचय गोप्य राखी खोजी कार्यलाई तीव्रता दिएको डिएसपी गिरीले जानकारी दिए।

गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित रहेको एनएमबी बैंकको शाखामा दिउँसै हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेर फरार भएका थिए।

लुटेरा समुह नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकलमा चढेर आएका थिए। बैंक लुटपाट घटनामा लुटेराहरुमाथि मुलुकी अपराध संहित २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।