अर्थ मन्त्रालयको कामकाज अब डिजिटल माध्यममार्फत हुने: एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु


काठमाडौं – अर्थ मन्त्रालयले शुक्रबार एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को शुभारम्भ गरेको छ। अर्थमन्त्री रामेश्वर खनालकाे सहभागितामा सुरु गरिएको यस प्रणालीमार्फत मन्त्रालयका कार्यालयस्तरका कामकाज अब डिजिटल माध्यमबाट सञ्चालन हुने भएका हुन्।

सूचना तथा सञ्चार प्रविधि विभागले विकास गरेको जिआइओएमएस प्रणालीले फाइल स्वीकृति, आदेश तथा टिप्पणी निर्णय, चिठ्ठीपत्रको दर्ता र चलानी, हाजिरी, बिदा र काज स्वीकृति, अभिलेख व्यवस्थापन जस्ता कार्यहरू विद्युतीय माध्यमबाट गर्न सकिने बनाएको छ । यसमा विद्युतीय हस्ताक्षर अनिवार्य गरिएको छ ।

यस प्रणालीको प्रयोगले काम छिटो, सहज, पारदर्शी र मितव्ययी ढंगले सम्पन्न हुने विश्वास गरिएको छ । साथै, कागजरहित (पेपरलेस) शासनको अवधारणालाई अघि बढाउने लक्ष्य राखिएको छ।

अर्थ मन्त्रालयले अब सबै कार्यालयीन प्रक्रियामा जिआइओएमएस प्रणाली प्रयोग अनिवार्य गरिसकेको छ।