भारतबाट अवैध रूपमा ल्याइएको १४ लाखसहित एक जना प्रहरीको फन्दामा 


काठमाडौं – मोरङ प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। मङ्गलवार विराटनगर महानगरपालिका–१७ मा चेकजाँचका क्रममा प्रहरीले १४ लाख ५० हजार रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। 

भारततर्फबाट शंकास्पद ढङ्गले नेपाल प्रवेश गरेको को ३८प ५८५१ नम्बरको मोटरसाइकललाई रोकी तलासी गर्दा उक्त नगद बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ। मोटरसाइकल चलाइरहेका व्यक्ति विराटनगर–१८ निवासी ४१ वर्षीय वीरेन्द्र साह रहेको खुलाइएको छ।

प्रहरीका अनुसार साहले नगद रकम मोटरसाइकलमा लुकाएर ल्याइरहेका थिए। बरामद रकममध्ये एक हजार दरका २ सय ८४ थान र पाँच सय दरका २ हजार ३ सय ३२ थान नोट रहेका छन्। नगद रकमको स्पष्ट स्रोत खुलाउन नसकेपछि साहलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।