जेनजी प्रदर्शनको प्रभाव,‘चाडपर्व आयो, मन खुसी छैन’


काठमाडौं – आज बिहानै गोमा विष्ट शङ्खमूलपार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिइन् । उनले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसैंकोप्रारम्भ गरिन्। पुजाको तयारी गरेकी उनले भनिन्, ‘दसैं त आयो, तर, मन खुसी आएन ।’ गोमाले भनेझैँ, नजिकिएको दसैंमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् ।

उनले जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूले न्याय पाउने आशासँगै देशमा शान्ति छाओस् भनी कामना गरेको सुनाइन्। दसैंमा प्रायः काठमाडौं सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौं खाली हुन्छ । त्यो खालिपनमा यहाँका स्थानीयहरू शान्त भएर बस्न पाउने बताउँछन्। तर, पाटनका भक्तमान श्रेष्ठ भने यसपालिको दसैँमा सडक गल्ली शान्त भएपनि मन शान्त नहुने बताउँछन् ।

जेलबाट भागेका अपराधीहरू टोलभरि छन् । शान्त र सुरक्षित भएर कसरी दसैं मनाउने ? उनको मनमा खड्किएको प्रश्न हो यो । उनी भन्छन्, ‘प्रहरी कार्यालय जलेका छन्, अपराधीहरू बाहिरै घुमेका छन् । पर्वमा चोरी डकैती बढ्ने डर छ नि ।’ उनका अनुसार यस पालिको दसैंमा एकातिर देशका होनहार युवा गुमाउनु परेको पीडा छभने अर्कोतिर राजनीतिक कारण निश्चिन्त भएर मनाउने अवस्था छैन ।

जेनजी प्रदर्शनमा स्वतःस्फूर्त होमिएकी थिइन्, बानेश्वरकी भवानी निरौला । उनीसँगै आन्दोलनमा थुप्रै साथीहरू घाइते भएका छन् भने केहीले ज्यान गुमाए । ‘गोली लागेर साथी अस्पतालमा छ, दसैँमा कसरी खुसी हुन सकुँला र?’, २० वर्षीया निरौला भन्छिन् ।

बानेश्वरस्थित फुटपाथ सस्तो बजारका व्यापारी विक्रम भट्टराईका अनुसार विगतमा जस्तो दसैं किनमेलमा उत्साह छैन । एक साताअघि गोलीको बर्सा भएको अझै उनको कानमा गुन्जिन्छ । कोटेश्वर बस्ने टीका गौतम आज भृकुटीमण्डमा दसैँका लागि किनमेल गर्न पुगिन्। घरमा आवश्यक सामान र बालबालिकालाई लत्ताकपडा किनिन्। दसैँका लागि किनमेल गरिरहेकी उनले भनिन्,’केटाकेटीलाई खुसी पार्नु पर्यो, आफ्नो मनमा भने दसैँको उत्सव त्यति छैन ।’

मनोविद् गोविन्द ढकालका अनुसार चाडपर्वले आफन्तमाझ खुसियाली आदानप्रदान गर्छ । यसले समाजमा सामाजिक सद्भाव सिर्जना गर्नाका साथै वर्षभरिको तनाव पिरमर्कालाई पखालेर हलुको बनाउन मद्दत गर्छ । तर, यस वर्ष देशको स्थिति अनुकूल नहुँदा उत्सवमय बन्न नसकेको उनको भनाइ छ । असुरक्षित समाज, राजनीतिक अस्थिरताका कारण समाजमा चाडपर्वलाई उत्साहजनक बनाउन कठिनाइ भएको उनले बताए।