अर्थमन्त्री खनालले गरे हिमालयन रि समूहसँग साठगाँठ बनाएका दिनेश घिमिरेको सरुवा


काठमाडौं – दिपक भट्ट र शुलभ अग्रवाल लगायतका हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ता समूहसँग साठगाठ गर्दै नीतिगत चलखेलमा संलग्न सचिव दिनेश घिमिरेलाई अर्थ मन्त्रालयबाट सरुवा गरिएको छ । अर्थमन्त्री रामेश्वर खनालले यसअघि सहसचिव सेवन्तक पोखरेल र महेश बराललाई आन्तरिक सरुवा गरिसकेका छन् । खनाल आएपछि उनले भट्ट र उनका साझेदारले कर्मचारीतन्त्रको सेटिङ भत्काउँदै गएका छन् ।

भट्ट समूहलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन र हिमालयन रि समूहलाई नेपाल रिइन्स्योरेन्स कब्जा गराउन दिन घिमिरेले मुख्य भूमिका निर्वाह गरिरहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । घिमिरेकै जोडबलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा रहेका सन्तोषनारायण श्रेष्ठलाई बचाउन उनले कसरत गरिरहेको मन्त्रालय स्रोतले जनाउँछ । श्रेष्ठमाथि छानबिन गर्न अख्तियारले अध्ययन गर्न अर्थ मन्त्रालयलाई पत्राचार पनि गरेको थियो । तर, उनले अध्ययन गर्नखोज्ने कर्मचारीको आन्तरिक सरुवा गराइदिएर अध्ययनलाई नै होल्ड गराएको कर्मचारीहरू बताउँछन् ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स भट्ट समूहलाई दिने गरि चिन्तामणि शिवाकोटीद्वारा अध्ययन गरिएको थियो। सो प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा वित्तीय क्षेत्र समन्वय महाशाखाका कर्मचारीहरूले नकारात्मक टिप्पणी लेख्न खोजेका थिए । तर, यसको सुइको पाएका सचिव घिमिरेले एक महिनासम्म आफ्नो टेबलमा उक्त प्रतिवेदन होल्ड गरेर राखे । अन्ततः रायसुझाव नलिई उनले प्रतिवेदन धितोपत्र बोर्डमा पठाइदिए ।