टिप्स 

यसरी जोगाउनुहोस् सुकिला नोट


काठमाडौं – दसैंमा दक्षिणाको रूपमा सबैलाई नयाँ वा सुकिला नोट नै चाहिन्छ । तर, नोटको सुकिलोपन कायम राख्न भने हामी अधिकांश हेलचेक्र्याइँ गरिरहेका हुन्छौँ ।  सर्वसाधारणले नोटको जतन नगरेकै कारणले नेपाल राष्ट्र बैंकले अर्बाैं मूल्यका नोटहरू नष्ट गर्दै आइरहेको छ । यसपटक पनि राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट बजारमा पठाएको छ ।

असोज १६ गतेदेखि टिका सुरु भइसकेको छ । यसअनुसार मान्यजनको हातबाट टिका लगाएर दक्षिणा लिनेक्रम समेत सुरु भइसकेको छ । अघिल्लो वर्षसम्म केन्द्रीय बैंकले दसैंमा नयाँ नोट वितरण गर्ने गरेकामा गत वर्षदेखि सुकिला नोट वितरण गर्न थालेको छ ।

यसो गर्दा राज्य कोषको कम्तिमा २ अर्ब रुपैयाँ जोगिने आँकडा राष्ट्र बैंकको छ । किनकी, दसैंको समयमा अत्याधिक नोटको प्रचलन हुने र नयाँ नोटका रातो रंग लाग्ने च्यातिने लगायत हुन्थ्यो । नयाँको सट्टा सुकिला नोट प्रचलनमा ल्याउँदा राज्य कोषलाई कम क्षती हुने अड्कल राष्ट्र बैंकको छ । यद्यपी, सुकिला नोट समेत जोगाउन सकिन्छ ।

दसैंको समयमा टिका लगाएको हातले दक्षिणा दिँदा त्यसमा रंग लाग्ने गर्छ, जसले गर्दा नोट छिट्टै पुरानो हुने गर्छ । राष्ट्र बैंकले चाडपर्वको समयमा नयाँ नोट बजारमा पठाउँदै आएको छ । केन्द्रीय बैंकले पठाएको सो रकम आधाभन्दा बढीमा रंग र फोहोर लागेर फिर्ता हुने गरेको पाइन्छ ।

हामी सबैलाई नयाँ नोट मन पर्छ । तर, नयाँ/सुकिला नोटलाई सधैँ त्यस्तै राख्न भने कतिपयले जानेका हुँदैनन् ।  सर्वसाधारणले नोटको जतन नगरेकै कारणले नेपाल राष्ट्र बैंकले अर्बाैं मूल्यका नोटहरू नष्ट गर्दै आइरहेको छ ।

राष्ट्र बैंककाअनुसार नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्ने, कुनै पनि प्रकारको रंग नलगाउने गर्नुपर्छ । नोटमा जथाभाबी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन ।

यसरी गर्नुहोस् नोटको जतन 

नोटको जतन गर्ने हरेक नेपालीको दायित्व हो । आफूले घर ल्याउँदा जस्तै पैसा बैंकलाई फिर्ता गर्नुपर्ने हुन्छ । नोटको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ । नयाँ नोट छपाई गर्न ठुलो मात्रामा सम्पत्ति खर्चिनु पर्ने भएकोले नोटको जतन गरी देशको सम्पत्ति जोगाउने कर्तव्य हरेक नागरिकको हुन्छ ।

नेपाल राष्ट्र बैंकले पनि कारोबारको क्रममा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा लागि दाखिला गर्नुपर्ने बताउँदै आएको छ । यस्तै, केन्द्रीय बैंकले नोटलाई मठ–मन्दिर वा पूजा पाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अबिर, पानी, दूध, रगत आदि नपारौँ, बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटेर चन्दा प्रदान गर्ने चलन चलाउनुपर्ने बताएको छ । 

यस्तो छ सुकिला नोटको जतन गर्ने तरिकाःयस्तो छ सुकिला नोटको जतन गर्ने तरिकाः

  • अनिवार्य रूपमा मनि ब्याग प्रयोग गर्ने, 
  • नोटमा जथाभाबी केरमेट नगर्ने, 
  • नयाँ नोट भन्दा सकेसम्म सुकिला नोटको प्रयोग गर्ने,
  • नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाउने,
  • नोटलाई गाड्ने र धेरै समयसम्म पोको पारेर नराख्ने,
  • नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गर्ने र अरूलाई पनि सिकाउने
  • नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्याग्ने
  • पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातले सकेसम्म नोट नछुने 
  • नोटमा टाँचा वा स्टिच नलगाउने