दातृ निकायका प्रतिनिधिसँग अर्थमन्त्रीको भेट: अमेरिकासँग पुनर्निर्माण र सहुलियत योजनाबारे छलफल


काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले आज सोमबार अर्थ मन्त्रालयमा प्रमुख दातृ निकायका प्रतिनिधिसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बैठकमा अर्थमन्त्री खनालले प्रतिनिधि सभाको निर्वाचन समयमै सम्पन्न गर्ने र युवाहरूको अपेक्षाअनुसार स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्।

एशियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोस्वासँगको छलफलमा अर्थमन्त्री खनालले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी र अन्य विकास आयोजना क्षेत्रमा एडीबीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । चालु आयोजना निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए। बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा पनि उपस्थित थिए।

अर्थमन्त्री खनालले अमेरिकी राजदूत डिन आर थप्मसनसँग भेटमा नेपालको हालको राजनीतिक परिवर्तित अवस्था, पुनर्निर्माण योजना र निजी क्षेत्रको मनोबल बढाउने सहुलियत प्याकेजबारे छलफल गरे । अमेरिकी राजदूतले एमसीसीमार्फत संचालन भइरहेको एमसिए परियोजनाहरू समयमै सम्पन्न गर्न सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताए। अर्थमन्त्रीले परियोजनाहरूको सफल कार्यान्वयनका लागि ढिलाई नगर्ने विश्वास दिलाए ।

अर्थमन्त्री खनालले आइएमएफका नेपाल मिशन प्रमुख जहान सर्वतसँगको भर्चुअल बैठकमा आर्थिक सुधारका कार्यक्रमहरूमा सरकारको दृढता व्यक्त गर्नुभयो। बैठकमा आईएमएफको विस्तारित कर्जा सुविधा को कार्यान्वयन समीक्षा गरिएको र छिट्टै बोर्डमा छैटौं समीक्षा प्रतिवेदन पेश हुने विषयमा छलफल भएको थियो। मिशन प्रमुखले नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए।