चीनतर्फको वैकल्पिक नाका सक्रियः कोरला नाकाबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक साधन भित्रिए


काठमाडौं – रसुवा भन्सार कार्यालय बाढीले बन्द र तातोपानी नाकामा पहिरोका कारण अवरोध भएको अवस्थामा, वैदेशिक व्यापारलाई सहज बनाउन मुस्ताङ जिल्लास्थित नेचुङ (कोरला नाका) भन्सार कार्यालय भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

भन्सार विभागले जारी गरेको विज्ञप्तिअनुसार असोज ४ गतेसम्म उक्त नाकामार्फत २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक साधनमा आएका मालवस्तुको जाँचपास भएको छ । यस अवधिमा ३४ करोड ४७ लाख ४५ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ।

हाल मुस्ताङ भन्सार कार्यालयमा आशिकुडा प्रणाली पनि सञ्चालनमा भइसकेको छ। साथै, नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्रअनुसार, यस भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्रमार्फत सामान आयात गर्न ‘एकीकृत परिपत्र २०८१’ मा समावेश गरी सहजीकरण गरिएको छ।

विभागका अनुसार, वैकल्पिक भन्सारमार्फत व्यापार सुचारु भएपछि चीनसँगको वैदेशिक व्यापारमा देखिएको अवरोध घट्न थालेको छ।