काठमाडौं – जेनजी प्रदर्शन पूर्व शेयर बजारमा जबरजस्ती उचालिएका दुई कम्पनी हुन्, नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्सोरेन्स । दीपक भट्ट र शंकर अग्रवालको वर्चस्व रहेको हिमालयन रि समूहले हकप्रद निष्कासनको हौवा चलाएर निरन्तर यी दुई कम्पनीको शेयर मूल्य उचालिएको थियो । प्रदर्शनका क्रममा रोकिएको नेप्से बिहीबार पहिलो पटक खुलेको थियो । खुलेको केही मिनेटमै यी दुई कम्पनीको शेयर मूल्य पानीको फोका फुटे सरह ओरालो लागेपछि सर्किट ब्रेकर नै लागेको छ ।
गत २७ असारमा प्रति कित्ता ८ सय ९६ रुपैयाँ २२ पैसामा किनबेच भएको हिमालयन रिको शेयर मूल्य त्यसपछि लगातार बढेर एक हजारभन्दा माथिको मूल्यमा पुगेको थियो । हिमालयन रिको ५२ हप्ताकै उच्चतम मूल्य एक हजार एक सय ५६ रुपैयाँ छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको पनि प्रदर्शन पूर्वको बजार मूल्य प्रति कित्ता एक हजार ६ सय ३१ रुपैयाँ ८६ पैसा थियो । तर, बिहीबार १० प्रतिशतले मूल्य घटेर एक हजार चार सय ६८ रुपैयाँ ७० पैसामा आएको छ ।
हकप्रदको हौवा चलाएर उचालिएको थियो बजार
हिमालयन रिको हकप्रद निष्कासनको प्रस्ताव नेपाल बीमा प्राधिकरणमै विचाराधीन छ । प्राधिकरणले हिमालयन रिको चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । नेपाल रिइन्स्योरेन्सले पनि हकप्रद निष्कासनको अनुमति माग्दै अर्थ मन्त्रालय र प्राधिकरणमा पठाएको थियो । तर, सरकारी स्वामित्वको नेपाल रिमा हकप्रदबापत सरकारले गर्नुपर्ने लगानी रकम विनियोजन नभएकाले हिमालयन रि समूहले नै उक्त कम्पनीको स्वामित्व कब्जा गर्न खोजेको प्रपञ्च चलिरहेको थियो ।
हकप्रदको चर्चा चलाएर दुवै कम्पनीको शेयर किनबेच गर्दै मूल्य उठाउँदै आइरहेकामा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले हकप्रदको प्रस्ताव फिर्ता गराउन सक्ने संशय बढेपछि यी दुई कम्पनीको सेयर मूल्यमा पहिरो गएको हो ।






About Us
प्रतिक्रिया