शेयर बजार ५ प्रतिशतले घट्दा पनि १० प्रतिशत बढ्यो हिमस्टारको शेयर मूल्य


काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि पहिलोपटक खुलेको शेयर बजारमा आज ५ प्रतिशतको नकरात्मक सर्किट लागेको छ । भदौ २४ गते अन्तिम पटक कारोबार भएपछि बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज असोज २ मा पहिलोपटक खुलेको हो ।

तर, खुलेको केही समयमा नै लगातार नकरात्मक सर्किट लाग्दै बजार कारोबार स्थगित बनिरहेको छ । पहिलो पटक ४ प्रतिशतले घटेर २० मिनेटका लागि रोकिएको नेप्सेको कारोबार खुलेको १ मिनेटमा नै १ प्रतिशत घटेर कूल ५ प्रतिशत घटेपछि पुनः ४० मिनेटका लागि रोकिएको छ ।

तर, परिसूचक १३३ अंकले घटेर २५ सय ६५ अंकमा आएपनि हिमस्टार ऊर्जा कम्पनीको शेयर मूल्य भने १० प्रतिशत बढेको छ । नेप्सेका अनुसार यो कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धिसँगै प्रतिकित्ता ४७३ रुपैयाँ पुगेको छ । यसक्रममा आजमात्रै कम्पनीको शेयर मूल्य ४३ रुपैयाँले बढेको छ ।

यसबाहेक, नेप्सेमा नकरात्मक सर्किट लागेपनि विभिन्न ११ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । तर, १८४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।