‘जेनजी आन्दोलनपछि खुल्ने शेयर बजारमा ऐतिहासिक कीर्तिमान बन्न सक्छ’


भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण यतिबेला देशमा सरकार फेरिएको छ । भ्रष्टाचार र घुसखोरीविरुद्ध आवाज उठाउँदै सडकमा उत्रिएका युवा पुस्तामाथि सरकारले बर्बर दमन गर्दै १९ जनाको हत्या गर्यो । जसको परिणामस्वरुप २४ गते देशव्यापीरुपमा आन्दोलन चर्कियो र हिंसामा परिणत भयो । जसकारण अहिलेसम्म ७४ जनाभन्दा धेरैको मृत्यू भइसकेको छ । यही आन्दोलनको कारण देखाउँदै शेयर बजार दुई सातासम्म बन्द रह्यो र असोज २ गतेदेखि खुल्दै छ । योबीचमा बजार घट्ने डरले नेपाल धितोपत्र बोर्डमा पुगेको लगानीकर्ताले नखोल्न दबाब दिएपछि नेपाल स्टक एक्सचेञ्जले निर्देशन बमोजिम बन्द गर्यो । तर, आन्दोलनपछि आएको परिवर्तन र संकटमा फस्टाउने विगतको अनुभव हेर्दा बजार उल्लेख्य बढ्न सक्ने अड्कलबाजी सुरु भएको छ । जेनजी आन्दोलन र यसपछि देखिएको राजनीतिक परिवर्तनपछि नेपालको शेयर बजार कता मोडिएला भन्ने विषयमा केन्द्रीत रहेर नेपाल स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवालसँग गरेको कुराकानीको संपादित अंशः–

यतिबेला हामी राजनीतिक परिवर्तनको संघारमा छौँ । जेनजी आन्दोलनले देशको सत्ता नै परिवर्तन गरिसकेको छ । अन्तरिम सरकार गठन भइसकेको छ । अब खुल्ने बजार कता जाने आँकलन छ ?

यो आन्दोलनमा भएको बजार बन्दका कारण लगानीकर्ताले ‘कुलिङ पिरियड’ पाएका छन्। यसकारण अहिले धेरै विषय सामान्य बन्दै गइसकेका छन् । अब बजारमा लगानीकर्ता ‘प्यानिक’ नहुन सक्छन् । किनकि, गत सातासम्म राजनीतिक भविष्यको चिन्ताका कारण अनिश्चितता र अन्यौलता थियो । अब प्रधानमन्त्री नियुक्त भइसक्नुभएको छ र अर्थमन्त्री समेत पाइसकेका छौँ ।

अब बजार खुल्दा केही तलमाथि भएपनि विगतको इतिहासले बढ्न सक्ने र सम्भवत किर्तिमान नै बन्न सक्ने स्थिति पनि रहन्छ । यस्तो परिस्थितीमा पनि विगतमा जस्तै बजार बढ्ने र उच्च अंकमा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

यसको अर्थ संकट र प्राकृतिक विपत्ति फाप्ने शेयर बजार यसपटक पनि बढ्न सक्ने अड्कलबाजी लगानीकर्ता र सरोकारवालाहरूले गरेका छन् ?

सबैले उज्ज्वल भविष्यको सपना देखिरहेका छन् । प्रधानमन्त्री र सरकार नै नयाँ आइसकेको छ । अब शेयर बजारमा आबद्ध लगानीकर्ताले पनि यस्तै अपेक्षा गरेका छन् ।

भूकम्पपछि बजार परिसूचक १८ सय अंकको बिन्दुमा पुगेको थियो । त्यसपछि २२ सय हुँदै ३२ सय अंकको बिन्दुसम्म पुगेको छ । र, यो सबै आपत्ति तथा विपत्तिको समयमा पुगेको थियो । अब फेरी कीर्तिमान कायम हुने हो ?

अहिलेको अवस्थामा बजारले यो गति लिन्छ भन्ने स्थिति छैन । किनकि अहिले पनि नेपाल परिवर्तनकै चरणमा छ । र, आगामी दिनमा सरकारले र अर्थ मन्त्रालयले कस्तो नीति लिन्छ, यसमा आधार रहन्छ । तर, आर्थिक सूचकहरू सकारात्मक छन् । केन्द्रीय बैंक प्रतिवेदनले पनि रेमिट्यान्स बढेको, अर्थतन्त्र चलायमान बनेको र आयात–निर्यात उचालिएको देखाउँछ । अब अर्थ मन्त्रालयले लिने सहज नीति र बजारले आत्मविश्वास बटुल्दै गयो भने पुराना कीर्तिमान तोड्न सकिन्छ ।

केही संकट फापेपनि कतिपय संकटमा लगानीकर्ता रोइकराई गर्नुपरेको स्थिति पनि छन् विगतमा । यसपटक पनि यस्तै त हुने होइन ?

शेयर बजार हो । यसको ट्रेन्ड पछ्याउन सकिन्छ अड्कल गर्न सकिन्छ । तर, यसै हुन्छ भन्न सक्ने स्थिति छैन । आजको भोलि अन्य परिवर्तन आएमा बजार जता पनि जान सक्छ । तर, अहिलेकै अवस्थामा बजार बढ्नुपर्ने हो ।

आन्दोलन मत्थर भइसकेको छ । देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाइसकेको छ । अर्थ मन्त्रालयले नेतृत्व समेत पाइसकेको अवस्था छ । अब अर्थमन्त्री डा. रामेश्वर खनालले चाल्नुपर्ने सुरुवाती कदम के हुन् ?

अर्थमन्त्रालय र अर्थमन्त्रीका लागि शेयर बजार अर्थतन्त्रको एउटा हिस्सा मात्रै हो । उहाँसँग अन्य ठुला चुनौती पनि छन् । तर, शेयर बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ । यसका लागि बैंक तथा वित्तीय संस्थामा थुप्रिएको खर्बौं रकमलाई बजारमा ल्याउन सहयोगी भूमिका खेल्नुपर्छ । यसका लागि अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्नुपर्छ।

यसबाहेक, अर्थमन्त्रालयले पुँजीगत खर्चमा जोडबल गर्नुपर्छ । पुँजीगत खर्चमा सरकारले ध्यान दिन सकेमा र खर्च बढाउन सकेमा समग्र बजार चलायमान बन्छ । जसको प्रत्यक्ष प्रभाव शेयर बजारमा आउँछ । अहिले शेयर बजारमा देखिएको मुख्य समस्या ‘डिमाण्ड एण्ड सप्लाई’को ‘मिसम्याच’ हो । बजारमा पर्याप्त आपूर्ति देखिन्छ र शेयरको माग न्यून देखिन्छ । यो असन्तुलनलाई हटाउनुपर्छ ।

यसका लागि नागरिक कोष, कर्मचारी सञ्चय कोषलाई बजारमा लगानीका लागि सहज वातावरण बनाउनुपर्छ । यसबाहेक, बैंक तथा वित्तीय संस्थाले १ वर्षसम्म शेयर बेच्न नपाउने व्यवस्थालाई खुकुलो बनाउनुपर्छ । बजारमा माग बढाउनका लागि यी विषयलाई समेट्नुपर्ने देखिन्छ ।

सीडीएसीको तथ्यांकअनुसार जम्माजम्मी ६५ लाख हाराहारी प्रत्यक्षरुपमा बजारसँग जोडिएका छन् । यसले ३ करोडमध्ये आधा करोड जनसंख्या शेयर बजारमा छन् । यसले बजारमा पर्ने प्रभावको लाभ हानी समग्र नेपालीसमक्ष नै पुग्छ । अब सरोकारवालाले कसरी मिलेर काम गर्नुपर्छ ?

६० लाखभन्दा बढी डिम्याट खाता खोल्नेहरू मध्येले प्राथमिक शेयरमा आवेदनका लागि खोलेका हुन् । ३ करोड जनसंख्यामा ६० लाखले डिम्याट खाता खोल्दा २० प्रतिशत सर्वसाधारण प्रत्यक्षरुपमा बजारमा जोडिएका छन् । जबकि, भारतमा १२ प्रतिशत जनसंख्याले मात्रै डिम्याट खोलेको छ । नेपालमा १० वर्षको अवधिमा नै ६० लाखभन्दा बढीले डिम्याट खोलेका छन् । यो आईपीओमा लिइएको १० कीत्ते नीतिका कारण भएको हो ।

यहीकारण, धेरै जसो नेपालीले आईपीओ मात्रै भर्दै आइरहेका छन् र आईपीओको मूल्य १०० मा हुने भएकाले सबै जना सुरक्षित रहन्छन् । बजारमा सक्रिय रहेका लगानीकर्ताले अध्ययन गरेर नै लगानी गर्नुपर्छ । अहिलेसम्म अधिकांश लगानीकर्ता हल्लाको पछाडि लागेर कुदिरहेका छन् । तर, अध्ययनमा आधारित हुनुपर्छ । यसमा ब्रोकरले पनि चेतना फैलाउन आवश्यक छ ।

एकातिर ब्रोकरले चेतना फैलाउन आवश्यक छ । तर, अर्कोतर्फ ब्रोकर आफैँ हल्ला फैलाउँदै शेयर किनाउने काममा पनि संलग्न रहेको बताइन्छ । यसलाई नियन्त्रण गर्नुपर्दैन ?

यसो हुने हल्ला हामीले पनि सुनेका छौँ । र, यसलाई घटाउनैपर्छ । यद्यपि, यो आरोपमा प्रमाण केही छैन । अब नीतिगतरुपमा नै ब्रोकर कम्पनीलाई ‘रिसर्च विङ’ बनाउन दिनुपर्छ । जसले अध्ययन र अनुसन्धान गरेर लगानीकर्तालाई सुझाव दिन सक्छन् । यस्ताे हुँदा बजारमा चल्ने हल्ला र लगानीकर्ताको रकम खेर जाँदैन ।