काठमाडौं – काठमाडौंकाे गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।
गत भदौ २३ र २४ गते भएको जेड जेड द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृह जिल्ला जान थालेका छन् ।
नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए। उनका अनुसार यातायात व्यवस्था विभागमा मंगलवार बसेको सरोकार भएका निकायको बैठकले यस वर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ ।
मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए। उहाँका अनुसार जेड जेडका प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपत्यका छोडेर गृह जिल्ला जानेको सङ्ख्या ६५ हजार भन्दा बढी पुगेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यस वर्ष दसैँमा गृह जिल्ला जाने यात्रुको सङ्ख्यामा कमी आउन सक्ने धारणा राखे ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सरकारले दसैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ ।



About Us
प्रतिक्रिया