काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३०) गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो ।
सो आईपीओमा लगानीकर्ताले असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असोज १३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया