काठमाडौं – नेपालको राजनीतिक परिस्थिति तथा पछिल्ला दिनहरूमा भइरहेका दुखद घटना क्रमले अस्थिर हुँदै गएको, शान्ति सुरक्षामा चुनौती बढिरहेको तथा दुःखद घटनाहरूले आम नागरिकसँगै लगानीकर्ताको मनोबलमा गम्भीर असर पारेको भन्दै शेयर बजारका लगानीकर्ताहरू शेयर बजार अस्थायी रूपमा नखोल्न धमाधम नेपाल धितोपत्र बोर्ड समक्ष माग राख्न थालेका छन् ।
देशको यस्तो विषम परिस्थितिमा पुँजी बजार स्वाभाविक रूपमा बढी प्रभावित हुने हुँदा, बजारको स्थायित्व र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राख्दै शेयर बजार लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष, ताराप्रसाद फुल्लेल त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एस.पी.चौलागाई र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्रर कार्कीले सामूहिक रूपमा बोर्ड समक्ष यस्तो आग्रह गरेको हुन् ।
अहिले देखिएको भय र अनिश्चितताले लगानीकर्ताहरूलाई विवेकपूर्ण निर्णय लिन असम्भव हुने हुँदा जसको परिणामस्वरूप बजारमा अनावश्यक विक्री चाप आउने, सानो, सानो कारोबारले बजार असामान्य रूपमा खस्किने र विशेष गरी साना तथा नयाँ लगानीकर्ताहरूलाई अपूरणीय क्षति पुग्ने खतरा बढ्ने दृष्टान्त विगतका घटनाहरूले देखाएको बताएका छन् ।
यस्तो अवस्थालाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्दा, तत्कालका लागि शेयर कारोबार अस्थायी रूपमा स्थगन गर्नु नै बजारलाई थप ठुलो क्षतिबाट जोगाउने एक मात्र यथोचित विकल्प देखिने लगानीकर्ताका विभिन्न सङ्घ संस्थाहरूले बताएका छन् । देशमा राजनीतिक स्थिरता पुनः स्थापना भई समग्र अधिक गतिविधिहरू सहज बनेपछि मात्र शेयर बजार पुनः कारोबार सञ्चालन गर्नुपर्ने सुझाव समेत लगानीकर्ताहरूले बोर्ड समक्ष राखेका हुन् ।








About Us
प्रतिक्रिया