शेयर बजार तत्काल नखोल्न लगानीकर्ता संघकाे धितोपत्र बोर्डलाई सुझाव


काठमाडौं – शेयर बजार कारोबार तत्काल केही समयका लागि स्थगित गर्न लगानीकर्ता विभिन्न संघ (सङ्गठनहरू)ले नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएका छन्। देशको वर्तमान राजनीतिक अस्थिरता, गम्भीर सुरक्षा चुनौती र हालै घटेको दुःखद घटनाले आम लगानीकर्तालाई मर्माहत र चिन्तित बनाएको भन्दै यस विषम परिस्थितिलाई मध्यनजर गर्दै आम लगानीकर्ताहरूको भावना र पुँजी बजारको बृहत्तर हितका लागि लगानीकर्ताहरूले बोर्ड समक्ष यस्तो सुझाव राखेका हुन् । 

लगानीकर्ताले धितो पत्र बजार अत्यन्तै संवेदनशील हुने र राष्ट्रिय परिस्थितिको सानोभन्दा सानो सकारात्मक वा नकारात्मक प्रभावले समेत यसमा ठुलो उतारचढाव ल्याउने समेत बताएका छन् ।देशमा भइरहेको त्रास र अनिश्चितताको वातावरणमा लगानीकर्ताहरूले विवेकपूर्ण र सही निर्णय लिन असम्भव प्रायः हुन्छ  जसले गर्दा बजारमा अनावश्यक बिक्री चाप सिर्जना भई  पुँजी बजार नै धराशायी हुन सक्ने जोखिम बढेको समेत लगानीकर्ताले पत्र मार्फत बताएका छन् । 

देशमा शान्ति सुरक्षाको प्रत्याभूति भई अन्य आर्थिक गतिविधिका सम्पूर्ण अवयवहरू व्यवस्थित र सहज हुने परिस्थिति निर्माण भएपछि मात्र बोर्डले उचित समयमा बजार पुनः सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्छ भन्ने लगानीकर्ताका विभिन्न संघ (सङ्गठनहरू) को  माग रहेको बताएका हुन्। साथै, यस गम्भीर परिस्थितिलाई मनन गरी बोर्डको समन्वयमा नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ता, सिडिएससी तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र छलफल गरी राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितो पत्र कारोबार स्थगित गर्ने निर्णय गर्न लगानीकर्ताहरूले बोर्डलाई अनुरोध गरेका छन् ।