आम सर्वसाधारणले बेला बेला उठान गर्दै आइरहेको भ्रष्टाचार र घुसखोरीको मुद्धा नयाँ पुस्ताले स्वस्फूर्तरुपमा अंगाल्यो । नाताबाद्, कृपाबाद, टिकेप्रथा, आफन्तबाद र भ्रष्टाचार तथा घुसखोरीबाट आजित सर्वसाधारणको मनोभाव बुझेर नयाँ पुस्ता (जेनजी) सेप्टेम्बर ८ अर्थात भदौ २३ गते स्वस्फूर्तरुपमा आन्दोलनमा उत्रिएका थिए । भ्रष्टाचार र घुसखोरीविरुद्धको जवाफ खोज्ने उनीहरुको एउटै माग थियो ।
शान्तीपूर्ण आन्दोलन गर्ने लक्ष्यसहित विद्यालय र कलेजको ड्रेसमै आन्दोलनस्थल पुगेका विद्यार्थीको टाउको र छातीमा गोली बर्साउने आदेश गृहमन्त्रीले दिए । उनको आदेशको मतियारकारुपमा प्रधानमन्त्रीको भूमिकामा रहेको ओली समेत रहे भने नेपाली कांग्रेस र एमाले समेत १९ जना कलिला युवाको हत्याको कलंक बोके ।
गृहमन्त्रीको राजिनामा आइसकेपनि प्रधानमन्त्रीको भूमिकामा ओली अझै लाज पचाएर बसिरहेका छन् । शान्तीपूर्ण आन्दोलन दमन गर्दै टाउको र छाती ताक्दै विद्यार्थी र युवा मरेको टुलुटुलु हेरेर ओली सत्तालोलुप बनेर कुर्सीमा बसिरहेका छन् । जबकी, सम्पूर्ण जिम्मेवारी लिएर राजिनामा बुझाइसक्नुपर्ने हो ।
किनकी, यसअघि २०६३ मा भएको जनआन्दोलनमा नै जम्मा २० जनाको मृत्यू भएको थियो । र, त्यो आन्दोलन १९ दिनभन्दा लामो चलेको थियो । तर, जेनजीले गरेको आन्दोलनको पहिलो दिन नै कयौं कलिला युवाको भविष्य लुट्ने काम सरकार र सरकार मातहतका निकायले गरे । आन्दोलन कति शान्तीपूर्ण थियो भन्ने तथ्य आन्दोलनकारीको आक्रमणबाट धेरै क्षती नपुगेको प्रहरीको तथ्यांकलाई नै हेर्दा पुग्छ ।
किनकी, प्रहरीतर्फ धेरै क्षती भएको छैन । सुरुमा युवा मार्ने र घुसपेठको नाम दिलाउनु भनेको गैरजिम्मेवारी हो । घुसपेठ नै भएको रहेछ भनेपनि उनीहरु समेत आफ्नै देशका नागरिक थिए । सुरुमा आन्दोलनकारीले प्रहरीलाई कुनै क्षती गराएका थिएनन् । असन्तोष प्रकट गर्दै सडक उत्रिएका युवालाई सुरक्षित घर फर्काउने र प्रश्नको जवाफ दिने जिम्मेवारी सरकार र त्यसको नेतृत्व गरिरहेको ओलीको थियो ।
तर, प्रश्नको साटो दिनुपर्ने जवाफ एकातिर फालेर युवालाई गोली बर्साउने सरकारको नेतृत्वको हैसियतमा बसेका ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्छ । र, जेनजीमाथि चलाएको गोली र त्यसबाट भएको क्षती तथा मृत्यू र घाइतेको जिम्मा लिनुपर्छ ।



About Us
प्रतिक्रिया