करोडौँ नगद र सुनसहित पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि राजस्व विभाग पठाइयो


काठमाडौं – काठमाडौं गोंगबुबाट पक्राउ परेका विनोद कुमार श्रेष्ठलाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले उनको घरबाटै ठूलो मात्रामा नगद, सुन–चाँदी जस्तो देखिने धातुका गरगहना बरामद गरेको हो।

श्रेष्ठको घरमा छापा मादा स्रोत नखुलेको ४ करोड २६ लाख ४० हजार ५ सय रुपैयाँ नगद, ९ किलोग्राम बढी सुन जस्तो देखिने धातुका गरगहना र ३ किलोग्राम बढी चाँदी जस्तो देखिने धातुका गरगहना बरामद गरेको प्रहरीले बताएको छ। यस्तै, सोही दिन राति नयाँबजारस्थित सनम खड्गीको घरमा विनोद श्रेष्ठका छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको कोठामा समेत खानतलासी गर्दा थप नगद र धातुका गरगहना फेला परेको प्रहरीले जनाएको छ।

श्रेष्ठको घरबाट प्रहरीले ४ करोड २५ लाख नगद, सुन जस्तो देखिने धातुका विभिन्न किसिमका गरगहना ९,५४१.३६ ग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना ३,२१८.९२ ग्राम बरामद गरेको हो। 

साथै, प्रहरीले उनका छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको कोठाबाट ९० हजार नगद, सुन जस्तो देखिने तिलहरी (हरियो पोतेमा छड्के) – ५ थान, रातो पोतेमा नौ गेडी जडित तिलहरी – १ थान, सुन जस्तो देखिने वेरुवा औँठी – २ थान, सुन जस्तो देखिने लकेट – १ थान बरामद गरेको छ।  तर, उनी भने हाल फरार रहेका छन्।