९ लाख बिगो दाबी गरिएको फरार प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – व्यापारिक लेना रकम दिलाई भराई पाउँ मुद्दामा फरार रहेकी प्रतिवादी सरला सिन्टकला पक्राउ परेकी छन्। वादी गोयनका सिमेन्ट प्रालिका तर्फबाट दायर मुद्दामा रुपन्देही जिल्ला अदालत सिद्धार्थनगरले २०८२ असार २९ गते सिन्टकलालाई बिगो बापत कैद सजाय तोकेको थियो।

सो आदेशपछि फरार रहेकी उनलाई प्रहरी टोलीले भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–५ स्थित चुनदेवीबाट २०८२ भदौ १५ गते पक्राउ गरेको हो। उनले वादीलाई तिर्नुपर्ने ९ लाख ५० हजार रहेको र सो रकम बापत अदालतले उनलाई ६ महिना कैद सजाय तोकेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा सिन्टकला २०७५ मङ्सिर १२ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा दर्ता भएको बैंकिङ्ग कसुर मुद्दामा समेत फरार रहेको खुलेको छ। प्रहरीले पक्राउ परेकी सिन्टकलालाई रुपन्देही जिल्ला अदालत सिद्धार्थनगरमा उपस्थित गराएको प्रहरीले जनाएको छ।