अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बिक्रीमा

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको हो । जारी पूँजी रू। २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ प्रतिशेयर रू। १०० अंकित मूल्यमै विक्री गरिएको हो ।

दास्रो चरणका विक्री गरिने शेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीको भनाई छ । यी वाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सर्वसाधारणमा आईपीओ विक्री अवधि छिटोमा असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ छिटो अवधि असार १३ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरको प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।