काठमाडौं – काठमाडौं महानगरपालिका–१५, चमतीस्थित एक गोदाममा अवैध रूपमा भण्डारण गरी राजस्व छलीसहित कारोबार भइरहेको विद्युतीय चुरोट (भेप) ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गत मङ्गलवार (भदौ १५ गते) अपराह्न ४ बजे चमतीस्थित भाडाको घरमा छापा मार्दा विभिन्न कम्पनीका भेपसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ लिस्ती घर भई हाल बालाजु बस्ने ४० वर्षीय निमा छिरिङ शेर्पा, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका –४ जुबु घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने ४२ वर्षीय कृष्ण बहादुर गुरुङ र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –७ ज्यामिरे घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ५२ वर्षीय राम बहादुर गुरुङ रहेका छन्। छापामारीको क्रममा प्रहरीले जम्मा ३,८०५ थान भेप बरामद गरेको छ, जसको मूल्य करिब ३८ लाख ५ हजार रुपैयाँ हुने प्रहरीले बताएको छ।
बरामद गरिएका सामानमा २,८४५ थान डिस्पोजेबल लेखिएको भेप, १०० थान विग म्याक्स लेखिएको भेप र ८६० थान माबोलो लेखिएको भेप रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामानसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया