चार वर्षमै दोब्बरले महँगियो सुनः अन्तर्राष्ट्रिय उतारचढावले थप मूल्य बढ्ने अनुमान

चाडवाडमा समेत छैन माग, क्रयशक्ति कमजोर हुँदा सुनसान छ सुनचाँदी पसल


काठमाडौं – चार वर्षमा सुनको मूल्य दोब्बरभन्दा बढीले महँगिएको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीको सुरक्षित क्षेत्र (सेफ हेभन) मानिने सुन नेपाली बजारमा भने परम्परा धान्न किन्नै पर्ने वस्तुको रूपमा किनबेच हुने गरेको छ । नेपालमा वाणिज्य बैंक बाहेक ढिके सुन आयात गर्न नपाइने भएकाले गरगहनाको रूपमा सुनको प्रयोग हुने गरेको छ । उपभोग्य वस्तुका रूपमा प्रयोग गरिने भएकाले राज्यले पनि यसलाई विलासिताको वस्तुको रूपमा परिभाषित गरेको छ । यद्यपि सुनको गरगहना नभई विवाहदेखि अन्य शुभ कार्य गर्ने परम्पराले नेपाली समाजमा निम्न र मध्यम वर्गका ग्राहक भने मारमा पर्दै आइरहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले नेपाली समाजमा चाडबाडका लागि नभई नहुने सुनको गरगहनाकोसमेत माग बढ्न नसकेको बताए । उनले भने, ‘तिजमा तिलहरीजस्ता गरगहनाको माग हुने गरेको थियो । तर, सुनको मूल्य आकासिएर होला, खासै माग भएन । मानिसको क्रय शक्ति नै कमजोर भएपछि सुनको माग बढ्ने विषय आएन । अब दसैं तिहारले अलिकति चहल ल्याउँछ की भन्ने अनुमान छ । तर, मूल्य दिनानुदिन बढेर सुन किन्ने आँट कम व्यक्तिहरूले गर्लान् ।’

सुनलाई विश्वकै सुरक्षित लगानी मानिन्छ । लगानीका अरू क्षेत्र चलायमान र फस्टाउने अवस्थामा लगानीकर्ताले सुनबाट लगानी झिक्छन् ।

उनका अनुसार सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले आगामी सेप्टेम्बरमा बस्ने तय भएको बैठकले ब्याजदर घटाउने अनुमान हो ।  अब सुनको मूल्य कति पुग्छ भन्ने यकिन गर्न नसकिए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रति औंस ३ हजार ५ सय अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् ।

यदि ३५ सय डलर माथि पुग्यो भने सुनको मूल्य थप आकासिएर जाने उनको भनाइ छ । ‘अमेरिकी डलर महँगो हुँदै गइरहेको छ । जसको कारणले पनि सुनको मूल्य बढेको हो,’ शाक्यले बैकिङ्ग समाचारसँगको कुराकानीमा बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको नीतिको कारणले गर्दा बजारमा उतारचढाव आएको र संसारका विभिन्न केन्द्रीय बैंकले सुनको होल्डिङ बढाएकाले पनि सुनको मूल्य बढेको शाक्यको भनाइ छ  । 

सुनको मूल्यलाई प्रभावित पार्ने विषय के के हुन् ?

ग्लोबल कमोडिटी भएकाले सुनको मूल्यमा अन्तर्राष्ट्रिय ठुला घटना तथा शक्तिशाली देशहरूको नीतिगत निर्णयले नै बढी प्रभाव पर्दै आइरहेको छ । खासगरीअन्तर्राष्ट्रिय ठुला घटनाक्रमले लगानीको क्षेत्रमा अस्थिरता उत्पन्न भएमा विश्वका ठुला लगानीकर्ताले अतालिएर सुनमा लगानी खन्याउने गर्छन् । सुनलाई विश्वकै सुरक्षित लगानी मानिन्छ । लगानीका अरू क्षेत्र चलायमान र फस्टाउने अवस्थामा लगानीकर्ताले सुनबाट लगानी झिक्छन् । यस्तो बेलामा सुनको अन्तर्राष्ट्रिय मूल्य पनि घट्ने गर्छ । सुनको अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव नै नेपाली बजारमा हुने मूल्य परिवर्तनको मुख्य कारण हुने गरेको छ । 

यस्तो छ चार वर्षको सुनको मूल्य शृङ्खला

नेपाली बजारमा पछिल्लो चार वर्षमा सुनको मूल्य प्रतितोला १ लाख भन्दा माथिको वृद्धि भएको तथ्याङकले देखाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष ०७८ भदौ १ गते प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य ०८२ भदौ १ सम्ममा १ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ । चार वर्षको अवधिमा सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँले बढेको तथ्याङ्कले देखाएको छ ।

०७८ भदौ १ मा सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको थियो । यससँगै चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो । ०७९ भदौ १ मा छापावाल सुनको मूल्य ५ हजारले बढेर ९६ हजार २ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, चाँदीको मूल्यमा भने खासै परिवर्तन नआएको तथ्याङकले देखाउँछ । चाँदीको मूल्य १२ सय २० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै ०८० भदौ १ गते छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएसँगै, चाँदी १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत भदौ १ गते छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, ०८२ भदौ १ गते छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ, यससँगै चाँदी प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको छ । आज सोमबार (१६ भदौ) सुनको मूल्य प्रति तोला दुई लाख पाँच हजार दुई सय रुपैयाँ कायम भएको छ ।  

किन बढ्दैछ सुनको मूल्य ?
पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निकै ठुलो वृद्धि आएको छ । यससँगै नेपाली बजारमा समेत यसको प्रत्यक्ष असर परेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएदेखि नै सुनको मूल्य बढ्दै गइरहेको देखिन्छ । खासगरि उनका अप्रत्याशित आर्थिक कुटनीति तथा सरकारी नीतिहरू नै सुनको मूल्यवृद्धिका कारण हुन् । संसारकै शक्तिशाली राष्ट्र अमेरिकाले उनी राष्ट्रपति भएर आएपछि चीन, भारत जस्ता ठूला आर्थिक शक्ति राष्ट्रहरूमाथि उच्च दरमा ट्यारिफ लगाएको छ ।

भविष्यमा कुनै उथलपुथल भएमा, मुद्राको मूल्य घट्नेछ र सुनको मूल्य वृद्धि हुने कुरामा अनुमान गरिएको छ जसले गर्दा सुन किन्ने व्यवसायीहरूको संख्यामा वृद्धि भएको छ ।

यसले विश्वभरको शेयर बजारमा पहिरो नै गएको छ । यससँगै, अन्तरराष्ट्रिय बजारमा शेयर बजारमा आएको उतावचडावको कारणले पनि लगानी गर्ने चाहने लगानीकर्ताले स्टकमा हुन सक्ने सम्भावित नोक्सानीको क्षतिपूर्ती गर्न समेत सुनमा लगानी गरिरहेका छन् । त्यस्तै, संसारभरका केन्द्रिय बैंकहरूले सुन किनिरहेका छन् । वल्र्ड गोल्ड काउन्सिलको नयाँ रिपोर्ट अनुसार गत जुलाइमा मात्र केन्द्रीय बैंकहरूले ३७ टन सुन खरिद गरेका छन् । सुन खरिद गर्ने देशहरूमा पोल्याण्ड, टर्की, उज्बेकिस्तान, र चेक गणराज्य जस्ता देशहरू छन् । यसरी अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग उच्च हुँदै गएकाले सुनको मल्य पनि बढ्दै गएको अनुमान गर्ने सकिन्छ । पछिल्लो समय भूराजनीतिक तनावहरू संसारका धेरै भागहरूमा बढिरहेका छन् । भविष्यमा कुनै उथलपुथल भएमा, मुद्राको मूल्य घट्नेछ र सुनको मूल्य वृद्धि हुने कुरामा अनुमान गरिएको छ जसले गर्दा सुन किन्ने व्यवसायीहरूको संख्यामा वृद्धि भएको छ ।

यससँगै, आर्थिक वर्ष ०८०/८१ मा सरकारले बजेटमार्फत सुन आयातमा भन्सार महसुल दर १५ बाट २० प्रतिशत पु¥याएको थियो। यसले भन्सार बिन्दूमै सुनको मूल्य बढेर आयो । जसले व्यावसायिक वातावरण नै खलबलिने भन्दै व्यवसायीले फिर्ता लिन माग समेत गरेका थिए । यससँगै, सुनमा थपिएको राजस्व पनि एउटा प्रमुख कारण हो । राजस्व बढेपछि सुनको मूल्य पनि बढ्यो।