काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको भवन निर्माणमा अनियमितता भएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियारले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
अख्तियारका अनुसार आव २०७१/०७२ मा विद्यालयको ४ कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय खोटाङ र विद्यालयबीच चौबीस लाख रुपैयाँ सरकारी अनुदान र जनश्रमदान सहित ३० लाख रुपैयाँ लागतमा सम्झौता भएको थियो। तर, सम्झौताको सर्त विपरीत भवन निर्माणमा जम्मा करिब २ लाख ७२ हजार रुपैयाँ बराबरको मात्र काम भएको स्थलगत नाप जाँचबाट देखिएको अख्तियारले जनाएको छ।
अनुसन्धानबाट तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला शिक्षा कार्यालयका अधिकारी तथा अन्य संलग्न व्यक्तिहरूको आपसी मिलेमतोमा झुट्टा प्राविधिक मूल्याङ्कन र बिल भर्पाई प्रस्तुत गरी भवन निर्माण नै नगरी चौबीस लाख रुपैयाँ निकासा लिएको र भुक्तानी गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ।
यसरी राष्ट्रसेवक कर्मचारी तथा संलग्न व्यक्तिहरूले सार्वजनिक सम्पत्तिमा गैर कानुनी हानी पुराउँदै व्यक्तिगत लाभ उठाएको ठहर गर्दै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गतको सजायको मागसहित आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।



About Us
प्रतिक्रिया