भैरहवाका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यादवले करिब ५ करोड ७९ लाख बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

२०५३ साल असार १३ गतेदेखि २०८१ साल असार १६ गतेसम्ममा यादव र उनको परिवारको वैध आय ९ करोड ३ लाख ९५ हजार मात्र देखिए पनि, खर्च र लगानी गरी कूल १४ करोड ८३ लाख बराबरको सम्पत्ति सङ्कलन भएको पाइएको आयोगले जनाएको छ।

यस आधारमा यादवले वैध स्रोतले पुष्टि गर्न नसकिएको ५ करोड ७९ लाखभन्दा बढीको सम्पत्ति आर्जन गरेको ठहर गरिएको हो। आयोगले यादवले दशौं वर्षसम्म नापी कार्यालय प्रमुखको हैसियतमा राजनीतिक व्यक्ति र विभागीय प्रमुखलाई प्रभावमा पारी सरकारी जग्गा व्यक्तिगत नाममा सार्ने, जग्गा प्लट मिलान र विभिन्न अनियमिततामार्फत आर्थिक चलखेल गरेको आरोपसमेत लगाएको छ।

यस्तै, यादवले पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएको प्रमाण फेला परेकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(२०) अनुसार कैद र जरिवाना सजाय माग गरिएको आयोगले जनाएको छ। आयोगले यादवसहित उनकी श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवलाई पनि गैरकानूनी आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।