साप्ताहिक शेयर बजार विश्लेषण: २३.०३ अंकले बढ्यो नेप्से, अपेक्षित रुपमा बढ्न सकेन बजार


काठमाडौं – नेप्से परिसूचक यो साता उतारचढावबीच झिनो वृद्धीसहित बन्द भएको छ। गत साता बिहीबार २,७५७.९७ विन्दुमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्म आइपुग्दा २,७८१ विन्दुमा पुगेर बन्द भयो। यसरी साताभर २३.०३ अङ्कले परिसूचक बढेको हो।

साताभरको कारोबार विवरणअनुसार आइतबार नेप्से १८.०२ अङ्कले घटेर २,७३९.९५ विन्दुमा पुगेको थियो। सोमबार भने २१.३० अङ्कले वृद्धि हुँदै २,७६१.२६ विन्दुमा पुगेको सूचक मंगलबार ४.८३ अङ्कले बढेर २,७६६.०९ विन्दुमा उक्लियो। त्यसपछि बुधबार ५३.०१ अङ्कको ठूलो वृद्धिसहित २,८१९.१० विन्दुमा पुगेको बजार अन्तिम दिन बिहीबार ३८.१० अङ्कले घटेर २,७८१.०० विन्दुमा बन्द भयो।

नेप्से परिसूचक पछिल्लो ५२ सातामा उच्चतम ३,००२.०७ विन्दु र न्यूनतम २,४६४.४० विन्दुमा कारोबार भएको छ। साताभरमा बिहीबार सबैभन्दा बढी ७ अर्ब ९७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ७७ हजार १७ पटकमा १ करोड ४० लाख १९ हजार कित्ता शेयर किनबेच भएको छ।

बुधबार ७ अर्ब ६० करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार ५ अर्ब ६६ करोड रुपैयाँ, मंगलबार ४ अर्ब ९९ करोड रुपैयाँ र आइतबार ६ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ ।

किन अपेक्षित रुपमा बढ्न सकेको छैन बजार
नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने र शेयर बजार, घरजग्गा क्षेत्रमा ऋण सजिलो बनाउने लक्ष्य राखेको थियो। नीति अनुसार बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशत कायम गरिएको छ। तर, पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। शेयर धितो ऋण सीमा १५ करोडबाट २५ करोड पुर्‍याइएको र नियम सजिलो बनाइए पनि, कर्जा विस्तारमा सुधार देखिएको छैन।

मौद्रिक नीतिले सहजीकरण गरि दिए पनि बजार वृद्धि हुन सकेको देखिएन । हाल बैंक तथा वित्तीय संस्थाहरुमा अभूतपूर्व बढी निक्षेप थुप्रिएको छ। असार मसान्तसम्म बैंकिङ्ग प्रणालीको कुल निक्षेप करिब ६५ खर्ब रुपैयाँ पुगेको छ, यसलाई ‘बैंकहरूमा पैसा जमेको’रुपमा जानकारहरूले टिप्पणी गर्न थालेका छन् ।

निक्षेप वृद्धि हुँदा ब्याजदर घट्ने ट्रेन्डमा रहेकाले अल्पकालीन निक्षेप शून्यमै झरेको छ। पछिल्लो वर्ष बैंकिङ्ग प्रणालीमा निक्षेप दर १३.४८ प्रतिशतले बढ्दा कर्जा विस्तार मात्र ८.८३ प्रतिशतले वृद्धि भयो, जसले धेरै तरलता रहेको पुष्टि गर्छ। अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले खुला बजार अपरेसनमार्फत बजारबाट ४५ अर्ब निक्षेप रुपैयाँ तान्ने प्रयास गरेको छ। यसरी निरन्तर तरलता थुप्रिनुका बावजुद पनि उत्पादनशील क्षेत्रमा पैसा परिचालन नहुँदा शेयर बजारमा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।

बैंकहरुले सरोकारवाला नीतिगत निर्देशनअनुसार आफ्ना निक्षेप दर घटाउँदै आएका छन्। भदौ महिनामा प्रमुख वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.५७ प्रतिशत पुगेको छ, जुन साउनको ५.६८ प्रतिशतभन्दा न्यून हो । ब्याजदर घट्ने क्रममा कर्जाको लागत पनि घट्ने सम्भावना बढ्दो छ।

ब्याजदर घटाई बैंकहरू अल्पकालीन निक्षेपकर्तालाई कम ब्याज दिने रणनीति अपनाइरहेकाले अब ऋण दर पनि क्रमशः घट्ने संकेत देखिन्छ। यद्यपि लगानी तथा उपभोग दुवै कमजोर छन् । मानिसहरु खर्च गर्न हिच्किचाइरहेका छन् । व्यवसायीले नयाँ लगानी बढाउन सकेका छैनन्। अविश्वासको यो वातावरणमा कर्जा अझै सस्तो भए पनि बजारमा अर्थोपार्जन बढ्न सकिरहेको छैन।