इन्स्याेरेन्स आइकन-२

बीमा क्षेत्रका प्रेरणादायी व्यक्तित्व चिरायु भण्डारी: चार दशकको मिहिनेत र समर्पणको सफलताको कथा


काठमाडौं – कुनै क्षेत्रमा लामो समय करिअर बनाउनु सहज विषय होइन । खासगरी एउटै क्षेत्रमा चार दशकभन्दा बढी समय मिहिनेत र समर्पणका साथ बिताउनु सन्तान हुर्काउनुभन्दा कम चुनौतीपूर्ण अनुभव होइन । चाहे त्यो डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी वा नेतृत्व सम्हालिरहेका व्यक्तित्व किन नहुन्, सफलताका लागि लगनशीलता, धैर्यता र समर्पण अनिवार्य हुन्छ । तर, यो यात्रामा गन्तव्य देखाउने गुरुको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । 

आरम्भमा यस्ता मार्गदर्शकले दिएको कठिनाइ र कामको दबाबलाई हामीले बोझ मान्छौँ, रिस उठ्छ तर सफलता प्राप्ति पछि मात्र थाहा हुन्छ कि तिनै दबाब र मार्गदर्शनले हाम्रो जीवनलाई सही दिशा दिएको हुन्छ । यस्तै प्रेरणादायी मार्गदर्शन, मिहिनेत र समर्पणले जीवन बदलिएका व्यक्तित्व मध्ये एक हुन्, चिरायु भण्डारी ।

नेपालमा बीमा व्यवसायको आधिकारिक सुरुवात विसं २०२४ मा भएसँगै राष्ट्रिय बीमा संस्थानको स्थापना भएको मानिन्छ । यो क्षेत्रमा जीवन बीमा, पुनर्बीमा र हाल लघुजीवन बीमा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व हुन्, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी । तत्कालीन तीनथाना हाल चन्द्रागिरी नगरपालिका–१५ मा जन्मिएर साधारण कृषक परिवारमा हुर्किएका भण्डारीको जीवनयात्रा प्रेरणादायी छ । 

उनी यो क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न र सचेतना फैलाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।

उनले शान्ति निकुञ्ज माध्यमिक विद्यालयबाट कक्षा १० मा तेस्रो श्रेणीमा उत्तीर्ण गरे । त्यसपछि रत्नराज्य लक्ष्मी क्याम्पसबाट आइए र बिए पूरा गरे । पढाइमा सामान्य रहेका उनले ‘पब्लिक एडमिनिस्ट्रेसन’मा स्नातकोत्तर गरे । उनले आफ्ना बुबा केशवबहादुर भण्डारीलाई प्रेरणाको स्रोत र आमा मखन भण्डारीलाई जीवनको आधार स्तम्भ मान्छन् । परिवारको जेठो सन्तानका रूपमा उनले तीन भाइसँगै आफ्नो जिम्मेवारी सम्हाल्दै आएका छन् ।


४७ वर्षको अनुभव: मेहनत र समर्पणको प्रतिफल
नेपालको बीमा क्षेत्रमा ४७ वर्ष बिताइसकेका भण्डारीले यो क्षेत्रलाई आफ्नो जीवनको अभिन्न अंग बनाएका छन् । राष्ट्रिय बीमा संस्थानमा तत्कालीन अध्यक्ष कृष्णबहादुर देउजाको सहयोगमा प्रवेश गरेका उनले सुरुवाती दिनहरूमा निकै कठिनाइ झेले । उनलाई प्रायः अन्य विभागले गर्न नसकेका कामको जिम्मेवारी दिइन्थ्यो । सुनधाराबाट गाडी चढेर कार्यालय पुग्ने उनी प्रायः साँझको गाडी छुटिसक्थ्यो ।

 उनी काठमाडौंबाट चन्द्रागिरीसम्म पैदल हिँड्थे प्रायजसो । ‘मलाई आफ्नै मान्छेले काममा पेलेको देख्दा रिस उठ्थ्यो, तर मैले कहिल्यै हार मानिनँ’ भण्डारी सम्झिन्छन् । उनको यो लगनशीलताले बिस्तारै फल दिन थाल्यो । सबै विभागका काम सिक्दै गएपछि उनी बीमा क्षेत्रमा पोख्त बने । पछि उनले बुझे – उनलाई कामको दबाब दिनुको उद्देश्य उनलाई सक्षम र बहुमुखी बनाउनु थियो । यो अनुभवले उनलाई हरेक विभागको काममा निपुण बनायो, र सबैले उनलाई कामका लागि बोलाउन थाले । मेहनत र समर्पणको प्रतिफल मिठो हुने उनको अनुभव छ ।


सहायकदेखि सीईओसम्मकाे यात्रा

बीमा संस्थानमा सबैखाले अनुभव बटुलेपछि भण्डारीले नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरे । जहाँ उनले २६ वर्ष बिताए । त्यहाँ उनले सहायकको भूमिकाबाट सुरु गरेर भ्यालुएसन, प्रोडक्ट डिजाइन र बजार रणनीतिका क्षेत्रमा गहिरो ज्ञान हासिल गरे । त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीमा सीईओकाे भूमिका सम्हाले । प्राइम इन्स्योरेन्समा दुई वर्ष काम गरेपछि हाल उनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सीईओका रूपमा कार्यरत छन् । उनी डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै पेपरलेस काम गर्नुपर्छ भन्ने धारणाका व्यक्तित्व हुन् ।

‘बीमा क्षेत्र मेरो लागि परिवारजस्तै भएको छ’ भण्डारी भन्छन्, ‘माइक्रो इन्स्योरेन्समार्फत हामी समाजका तल्लो तहका मानिसहरूलाई पनि बीमाको दायरामा ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।’ उनी यो क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न र सचेतना फैलाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।


व्यक्तिगत र व्यावसायिक जीवनको सन्तुलन
चिरायुले आफ्नो व्यावसायिक सफलतासँगै व्यक्तिगत जीवनलाई पनि उत्तिकै महत्त्व दिएका छन् । २०४५ मा लक्ष्मी भण्डारीसँग विवाह बन्धनमा बाँधिए । पत्नी र छोरी आँचल भण्डारीसहित चिरायुसँग सानो तर सुखी परिवार छ । फुर्सदको समयमा पनि उनी बीमा क्षेत्रका किताबहरू पढ्ने र छिमेकी देशहरूको बीमा बजारबारे अध्ययन गर्छन् । ‘मेरो बुबा मेरो प्रेरणाको स्रोत हो र श्रीमतीको साथले मेरो जीवन सन्तुलित भएको छ,’ उनी भन्छन्, ‘रिटायरमेन्टपछि पनि म बीमा क्षेत्रमा नै जोडिएर बस्न चाहन्छु ।’ विशेष गरी बीमा विषयमा अध्यापन गराउने उनको रुचि छ ।

उनको जीवनको एउटै मात्र धारणा छ ‘सफलताको चुचुरोमा पुग्न धैर्यताको सिँढीको बिस्तारै आरोहण गर्नुपर्छ ।’

भण्डारीको बुझाइमा नेपालको बीमा क्षेत्रले अपेक्षाकृत गति लिन सकेको छैन । ‘बीमालाई करियरका रूपमा अँगाल्नेहरूको संख्या कम छ र सचेतनाको अभाव छ यो क्षेत्रमा । उनी भन्छन्, ‘माइक्रो इन्स्योरेन्सजस्ता नवीन क्षेत्रहरूले ग्रामीण र विपन्न समुदायलाई बीमाको दायरामा ल्याउन सक्ने सम्भावना बोकेको उनी बताउँछन्। तर, यसका लागि नियामक निकाय, बीमा कम्पनीहरू र सरोकारवालाहरूको सहकार्य आवश्यक छ । भण्डारीले बीमा क्षेत्रलाई एकदमै नजिकबाट नियालेका छन् । उनको अनुसार युवाहरूको लागि पछिल्लो समय निकै सम्भावना बोकेको क्षेत्रको बीमा । उनी युवाहरूलाई बीमा क्षेत्रमा काम गर्न प्रेरणा पनि दिने गर्छन् । उनको जीवनको एउटै मात्र धारणा छ ‘सफलताको चुचुरोमा पुग्न धैर्यताको सिँढीको बिस्तारै आरोहण गर्नुपर्छ ।’