काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–६, ९ र १० नम्बर वडाको कार्यालय भवन निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसहित ८ जना र कम्पनीविरुद्ध आयोगले मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन भएको सो ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत मिलेमतो र बदनियत पूर्ण मूल्याङ्कनमार्फत प्रतिस्पर्धा सीमित गरिएको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि आरोप पत्र दायर भएको हो।
अयोगका अनुसार, रञ्जित रञ्जन निर्माण प्रालिलाई साइट भिजिट नगरेको आधारमा मूल्याङ्कनमा अनुत्तीर्ण गरिए पनि खरिद नियमावलीमा साइट भिजिट नगर्दा हुने जोखिम स्वयं बोलपत्रदाताकै जिम्मेवारी हुने स्पष्ट व्यवस्था रहेको पाइएको छ। त्यस्तै, इ–बिडिङमा बोलपत्र जमानतको स्क्यान प्रतिलिपि पेस गर्न सकिने कानुनी व्यवस्था हुँदाहुँदै समेत सो कम्पनीलाई जानाजानी असफल बनाइएको देखिएको छ।
त्यसैगरी, सिद्धि बहन र वाई केजेभीलाई पनि फरक कागजातबारे बैंकसँग यकिन नगरी अनुत्तीर्ण बनाइएको र क्साईकुमारी इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई क्रेडिट लाइनको आधारमा सारभूत रूपमा अप्रभावकारी ठहर गरी प्रतिस्पर्धाबाट हटाइएको उल्लेख छ।
यसरी चारमध्ये तीन कम्पनीलाई अनुत्तीर्ण बनाई, प्रतिस्पर्धा सीमित गरेर लक्षित बोलपत्रदाता नयाँ बिके र नहकुली जेभी लाई मात्र सफल गराइएको देखिएको छ। ठेक्का प्रक्रियामा मिलेमतो गर्दै गैरकानूनी लाभ लिने नियतले नगरपालिकाले सो कम्पनीसँग ठेक्का सम्झौता गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ।
सो अनियमितताका कारण नेपाल सरकार र भेरी नगरपालिकालाई करिब ३६ लाख २० हजार रुपैयाँभन्दा बढीको हानी–नोक्सानी भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संलग्न कार्यालय प्रमुख, प्राविधिक मूल्याङ्कनमा संलग्न व्यक्तिहरू र ठेक्का लिने कम्पनीहरूका प्रतिनिधिहरूमाथि भ्रष्टाचारजन्य कसुरमा कारबाही गर्न माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।





About Us
प्रतिक्रिया