क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१३ बस्ने सङ्खुवासभा मकालु गाउँपालिका–४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् । 

पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रुपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका– २६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ८ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।