नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपा नेता कंडेल पक्राउ


बुटवल – रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा एकजनालाई प्रकाउ गरेको छ । प्रहरीले चितवनको कालिका नगरपालिका–५ पदमपुरका ५० वर्षीय हरिप्रसाद कंडेललाई बिहीबार पक्राउ गरेको हो ।

उनलाई चितवनबाटै पक्राउ गरेर रूपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । पक्राउ परेका कंडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक समेत हुन्। उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। रूपन्देही प्रहरीले भदौ १ गते सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम, होलोग्राम र स्टिकरसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको थियो।

भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको थियो। त्यस्तै, विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद भएका थिए।

यसैगरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्क सिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला पारेको थियो। यस्तै, जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र विश्वविद्यालय सहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौँ नक्कली स्ट्याम्प र छापहरू पनि बरामद भएका थिए।

प्रहरीसँगको बयानका क्रममा यादवले आफूले चितवनका हरिप्रसाद कंडेलको सामान ल्याएको बताएपछि चितवन प्रहरीको समन्वयमा कंडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका कंडेलले चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आएको खुलेको छ । उनले चितवनको लायन्स चोकमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । नेपाल र भारतका समेत विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर यसअघि अध्ययन तथा कामदारको रुपमा विभिन्न देशमा विद्यार्थी पठाउँदै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।