काठमाडौं – यो साताभर शेयर बजार ३०.३९ अंकले घटेको छ । गएको साताको बिहीबार २७८८.३६ बिन्दूमा अडिएको बजार परिसूचक नेप्से यो साताको बिहीबारसम्म आइपुग्दा २७५७.९७ बिन्दूमा रोकिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिसँगै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बजारप्रति उदार नीति देखाए पनि परिसूचकमा खासै सुधार आउन सकेको छैन । खासगरि बैंक तथा वित्तीय संस्थाका नाफामा उल्लेख्य सुधार आएको छ । यद्यपि सर्वसाधारण लगानीकर्ताले बजारमा विश्वास बढाउन सकेका छैनन् ।
साताको सुरुको दिन बजार परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ बिन्दूमा पुगेको थियो । दोस्रो दिन सोमबार थोरै ९.१६ अंकले बढेर २७७०.३९ बिन्दू र मंगलबार ६.५१ अंकले बढेर २७७६.९ बिन्दूसम्म पुगेको थियो । तर, सातामा अन्तिम दुई दिन भने बजार लगातार ओरालो लाग्यो । बुधबार ९.७ अंकले घट्यो भने बिहीबार ९.२२ अंकले घट्यो । साताभरमा सर्वाधिक कारोबार आइतबार भएको थियो । सो दिन ७ अर्ब ६१ करोड रूपैयाँको शेयर कारोबार भएको थियो भने न्युन कारोबार बिहीबार भएको थियो । बिहीबार चार अर्ब ८७ करोडमा कारोबार खुम्चिएको थियो । राष्ट्र बैंकले पुसमासन्तसम्ममा लघुवित्तलाई लाभांशमा लगाएको कडाई हटाउने मौद्रिक नीतिमा उल्लेख गरेको छ। त्यस्तै, बैंकहरूले दिने व्यक्तिगत शेयर धितोको कर्जा सीमा बढाएर २५ करोड रूपैयाँ पु¥याइएको छ। शेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन वा बढाउन आग्रह गर्दै आएका थिए। यसअघि संस्थागत कर्जाको सीमा हटाइएको थियो।
बैंकहरूले अब आवश्यकता अनुसार राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरिसकेको छ । अहिले कतिपय बैंकको जोखिम सम्पत्तिको आधारमा पुँजी कोष पर्याप्तता अनुपातमा दबाब छ । यही कारण बैंकिङ्ग प्रणालीमा सात खर्बभन्दा धेरै रकम कर्जा लगानी योग्य पुँजी भए पनि केही बैंकले कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। बैंकहरूले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्न पाउने व्यवस्था गरिदिन पनि माग गर्दै आइरहेका थिए। आर्थिक वर्ष ०८१/८२ मा वाणिज्य बैंकहरूको वित्तीय विवरणमा सुधार आएको देखिए पनि बैंकिङ्ग समूहका कम्पनीहरूको परिसूचक बढ्न सकेका छैनन् । नेप्सेमा प्रभुत्व राख्ने प्रमुख क्षेत्र बैंकिङ्ग समूह नबढ्दा समग्र सेयर बजार नै बढ्न नसकेको देखिन्छ ।



About Us
प्रतिक्रिया