उत्पादनमूलक कम्पनीको नाफाले देखायो अर्थतन्त्र चलायमानको संकेत


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत उत्पादन क्षेत्रका ९ वटा उद्योगको वित्तीय स्थिति सुधारिएको छ । नेप्सेमा सूचीकृत उत्पादन क्षेत्रका कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा आम्दानी सुधारिएको हो । देशको औद्योगिक गतिविधि बढ्दै जाँदा र अर्थतन्त्र चलायमान बन्दै जाँदा उत्पादनमूलक उद्योगको आम्दानी र नाफा बढेको देखिएको छ । खासगरी, देशको आर्थिक स्थिति पहिल्याउनका लागि उत्पादनमूलक उद्योगको वित्तीय स्थिति केलाउने गरिन्छ ।

२०८१/८२ मा नेप्सेमा सूचीकृत अधिकांश उत्पादनमूलक तथा प्रशोधन कम्पनीहरूको विवरणअनुसार सुधारिएको छ । सार्वजनिक तथ्यांकअनुसार नाफा बढ्ने कम्पनीहरूको सूचीमा सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन डिस्ष्टिलरी, युनिलिभर, ओम मेगाश्री र सोनापुर मिनरल्को नाफा बढेको छ।

यी कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्यरुपले नाफा बढाएका छन् । तर, यीबाहेक अन्य कम्पनीको नाफामा भने गिरावट आएको छ । बोटलर्स नेपाल, बोटलर्स नेपाल (तराई) र घोराही सिमेन्टको नाफामा भने गिरावट आएको छ । यसले नेप्सेमा सूचीकृत ९ उत्पादनमूलक उद्योगमध्ये ६ वटाको नाफा बढेको र ३ वटाको घटेको देखाउँछ ।

कुन कम्पनीको कति बढ्यो नाफा ?

उद्योग कम्पनीहरूमा सबैभन्दा धेरै नाफा कमाउनेमा सर्वोत्तम सिमेन्ट रहेको छ । यस कम्पनीको अघिल्लो वर्ष १४ करोड ९३ लाख रुपैयाँ कूल नाफा कमाएको थियो । जबकि, गत आर्थिक वर्षमा एकै पटक नाफा बढाउँदै १ अर्ब ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, अघिल्लो वर्षको तुलनामा ८६ करोड रुपैयाँभन्दा बढी हो ।

यस्तै, शिवम सिमेन्टले २०८१/८२ मा ७९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो कम्पनीले अघिल्लो वर्षमा २५ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा ५४ करोड रुपैयाँले बढी हो । यता हिमालयन डिष्टिलरीले ९५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो वर्षमा ७३ करोड ९२ लाख ४१ हजार रुपैयाँ रहेको थियो । यो २२ करोडको अन्तर हो ।

यस्तै, नेप्सेमा सूचीकृतमध्ये ‘ब्लू चिप’ कम्पनीकारुपमा रहेको युनिभिलरले समेत नाफा बढाएको छ । यद्यपि यो सामान्य मात्रैले बढेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जबकि, अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यता ओम मेगाश्रीको नाफामा समेत वृद्धि देखिएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ७५ लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा ८९ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, अघिल्लो आवमा कुल ४७ करोड १० लाखले ऋणात्मक रहेको सोनापुर मिनरल्स एण्ड आयलले गत आर्थिक वर्षमा भने ६१ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीले गरेको उल्लेख्य आर्थिक प्रगति हो।

यी कम्पनीको नाफा घट्यो

नेप्सेमा सूचीकृत उद्योग कम्पनीहरूमध्ये गत आवको वित्तीय विवरण अनुसार ३ कम्पनीहरूको नाफा ऋणात्मक देखिए रहेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल तराई र घोराही सिमेन्ट कम्पनीहरू रहेका छन् । बोटलर्स नेपाल (बालाजु) नोक्सानीमा गएको छ । यो कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणअनुसार ४० करोड रुपैयाँले नोक्सानीमा गएको छ । अघिल्लो वर्ष यो कम्पनी ३८ करोडले नाफामा थियो ।

यस्तै, बोटलर्स नेपाल (तराई) समेत नोक्सानीमा छ । यो कम्पनीको ६० करोड ७५ लाख ऋणात्मक छ। जबकि, अघिल्लो वर्ष यो कम्पनीले ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । यता घोराही सिमेन्टको नाफा ६६ करोड ३७ लाखले नोक्सानीमा छ । यो कम्पनी अघिल्लो वर्ष १ अर्ब ४४ करोडले नोक्सानीमा थियो ।