हेटौडामा नक्कली सुनसहित चार जना पक्राउ


काठमाडौं –  मकवानपुर प्रहरीले नक्कली सुनसहित चार जना पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका– ११ सुकुम्वासी टोलस्थित त्रिबेणीचोकमा कोठा भाडामा लिएर बस्दै आएका चार जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, हेटौडा उप-महानगरपालिका–७ का ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ रहेका छन्।

कोठा खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको सुनजस्तो देखिने पहेँलो धातु ५० थान बरामद भएको प्रहरीले जनाएको छ। उक्त धातु परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघमा पठाउँदा तीमध्ये ४९ थान नक्कली र १ थान मात्र सक्कली सुन भएको पुष्टि भएको छ।

परीक्षण अनुसार बरामद सक्कली सुनको तौल १० ग्राम रहेको र सोको मूल्य करिब १ लाख ६७ हजार हुने बताइएको छ। बरामद भएको सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी नक्कली सुनजस्तो देखिने बाँकी ४९ थान धातुसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौडाबाट ठगी उद्योग कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।