नाडा अटो शोमा आधा दर्जन बैंक, गाडी किन्न न्यूनतम ब्याजदरको प्रतिस्पर्धा


काठमाडौं – नाडा अटोमोबाइल्स एशोशिएसन नेपाल (नाडा)ले आयोजना गरेको ‘नाडा अटो शो, २०२५’ मा बैंक तथा वित्तीय संस्थाको उपस्थिती समेत बाक्लो देखिएको छ । आउँदै गरेको चार्डपर्व लक्षित यस शोले अटो व्यवसायमा सुधार आउने अपेक्षासहित आयोजित शोमा बैंकहरुले समेत व्यवसाय वृद्धिको लक्ष्य राख्दै उपस्थिती जनाएका हुन् ।

नाडाले हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा आयोजना नाडा अटो शो आयोजना गर्दै आइरहेको छ । १७औँ संस्करणको यो अटो शोमा १०० भन्दा बढी स्टल राखिएका छन् भने ७५ बढी सवारीसाधनका स्टल रहेका छन् । यहीकारण आफ्नो व्यवसायको मुख्य हिस्सा ओगटेको सवारी क्षेत्रमा कर्जा प्रवाह बढाउने लक्ष्यसहित बैंकहरुले समेत बाक्लो उपस्थिती जनाएका छन् ।

शोमास्टल नै राखेर आधा दर्जन वाणिज्य बैंकरुले उपस्थिति जनाएका छन् । धेरै नेपालीले प्रायः चाडपर्वको अवसर पारेर गाडी खरिद गर्ने गर्छन् । गाडी खरिद गर्दा चाहिने लोनलाई सहजीकरण गर्न बैंकहरुले शोमा सहभागीता जनाएका हुन् । सो प्रदर्शनिमा नबिल, हिमालयन, लक्ष्मी सनराइज, एनएमबि, सानिमा, ग्लोबल आईएमई, कृषि विकास लगायतका वाणिज्य बैंकहरू सहभागी भएका छन् ।

यस्तै, प्रर्दशनीमा बीमा कम्पनीको पनि उपस्थिती देखिएको छ । प्रदर्शनीमा शिखर इन्स्योरेन्सले आफ्नो स्टल नै राखेर ‘स्किम’ का बारेमा ग्राहकहरुलाई जानकारी गराउँदै आएको छ । लाखौंको संख्यामा सर्वसाधारण पुग्ने यो शोमा सवारी किन्न चाहनेलाई लक्षित गरेर कर्जा प्रवाह र बीमा लेख बेच्ने लक्ष्यसहित बैंक तथा बीमा कम्पनीको उपस्थिती देखिएको हो ।

कर्जा प्रवाहको मूख्य क्षेत्र भएकाले बैंकहरुले यसप्रकारको शोमा उपस्थिती बढाउँदै लगिरहेका छन् । पछिल्लो चरण बैंकिङ्ग क्षेत्रमा लगानीयोग्य रकम थुप्रिदै जाँदा कर्जा लगानी हुन सकेको छैन । बैंकहरुबाट प्रवाह हुने कर्जा बढ्न नसक्दा बैंकिङ्ग प्रणलीमा ६ खर्ब बढी तरलता थुप्रिएको छ । अहिले बैंकहरुलाई लगानी बढाउनुपर्ने चुनौती छ । यहिकारण, बैंकहरुले अटो शोमा आफ्नो स्टल नै राखेर ‘लोन स्किम’ का बारेमा जानकारी दिँदै आएका छन् ।

अटो लोनमा कुन बैंकको कति ब्याज ?

नबिल बैंकले चाडपर्व लक्षित सवारी खरिदका लागी ६.७४ प्रतिशतमा नै कर्जा उपलब्ध गराउने भएको छ । बैंकका कर्मचारी रमेश भट्टकाअनुसार नबिल बैंकले बेसरेटमा १ प्रतिशत मात्रै प्रिमियम थपेर सवारी लोन दिइरहेको छ । उनी कम ब्याजदरमा नै कर्जा पाइने हुँदा, सर्भिस छिटो हुनेहुँदा अटो लोनका लागी नबिल बैंकलाई छनोट गर्नुपर्ने बताउँछन् । नबिल बैंकले ७ वर्षको लागी अटो लोन प्रदान गर्नेछ ।

यस्तै, ग्लोबल आईएमई बैंकले पनि नाडा अटो शो र चार्डपर्वलाई लक्षित गरेर सवारी कर्जा स्किम सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंककी कर्मचारी नोना आचार्यकाअनुसार पेट्रोलियम र इलेक्ट्रिनिक भेहिकलका लागी ६.९९ प्रतिशतमा कर्जा प्रदान गर्नेछ । कर्जा लिने प्रक्रिया पनि सहज रहेको भन्दै उनले ग्लोबल आईएमई बैंकलाई नै अटो लोनका लागी सम्झिनुपर्ने बताइन् ।

यसैगरी, लक्ष्मी सन्राइज बैंकले पनि चार्डपर्वलाई लक्षित नयाँ स्किम ल्याएको छ । बैंकले ७.९९ प्रतिशतमा फिक्स्ड रेटमा नै ७ वर्षका लागी कर्जा प्रदान गर्ने बैंककी कर्मचारी रञ्जना खत्री बताउँछिन् । उनले नाडामा गाडी लिएर कर्जा लिन चाहनेहरुलाई ०.७५ प्रतिशत सेवाशुल्कमा ०.५ प्रतिशत मात्रै सेवाशुल्क लाग्ने बताइन् ।

सरकारी स्वामित्वको बैंक कृषि विकास बैंकले पनि नाडामा सहभागिता जनाएको छ । कृषि विकास बैंकले अन्य बैंकहरुको तुलनामा सस्तो ब्याजदर प्रदान गर्दै आएको बैंकका उप महाप्रबन्धक सुदिप कुमार दाहाल बताउँछन् । उनले बैंकले व्यक्तिगत सवारी कर्जामा बेसरेटमा ०.३६ प्रतिशत प्रिमियममा कर्जा दिएको बताए । ‘बजारको तुलनामा कृषि विकास बैंकको बेसरेट कम छ’ उनले भने, ‘सेवाशूल्कमा पनि छुट दिएका छौ भने लोन स्वीकृति प्रक्रिया पनि सहज छ ।’

यस्तै, सानिमा बैंकले पनि नाडा लक्षित अटो कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।बैंकका कर्मचारी सुवास कुँवरकाअनुसार सानिमा बैंकले नाडा लक्षित ५ वर्षे र ७ वर्षे स्किम सार्वजनिक गरेको छ । बैंकले सात वर्षे अवधिको कर्जामा ८.१५ प्रतिशत र ५ वर्षे अवधिको कर्जामा ७.९९ प्रतिशत ब्याज कायम गरेको छ ।

नेपाल एसबीआई बैंकले पनि नाडा विशेष अटो लोन स्किम सार्वजनिक गरेको छ । बैंकले बेसरेटमा ०.७० प्रतिशत प्रिमियम थप गरेर कर्जा लगानी गर्नेछ । बैंकले ति वर्षको कर्जामा ७.९९, पाँच वर्षको कर्जामा ८.४९ र ७ वर्षको कर्जामा ८ं९९ प्रतिशत ब्याजदर तयर गरेको बैंकका कर्मचारी योगेन्द्र पोखरेल बताउँछन् । यस्तै, एनएमबि बैंकले अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी कर्जा दिनेछ ।

यस्तै, हिमालयन बैंकले पनि नाडा विशेष ब्याजदर सार्वजनिक गरेको छ । बैंकले ८ वर्षका लागी कर्जा लगानी गर्ने बैंकका रिलेसनसिप म्यानेजर सन्दिप श्रेष्ठ बताउँछन् । उनले सेवाशूल्क पनि कम रहेको बताए । उनले बैंकले ०.८७ प्रतिशत मात्रै प्रिमियम थप गरेको बताए । उनले हिमालयन बैंकले इभिलाई प्रोत्साहन गर्नेगरी ब्याज तय गरेको बताए ।