बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्नेः अध्यक्ष  ढकाल

बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्नेः अध्यक्ष  ढकाल


बैंकिङ समाचार,काठमाडौं । 

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने बताएका छन् ।आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको उनले बताएका हुन्।

उनले आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमुलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने बताए । सरकारले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुटलाई कटौति गर्नु राम्रो नभएको उनको भनाइ छ ।अध्यक्ष ढकालल चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्थाहरु बजेटले खारेज गरेको विषलाई निजी क्षेत्रले स्वीकार गर्न नसक्ने  बताएका छन्।

आर्थिक नीति स्थिर भएको हेर्न चाहेको भन्दै आर्थिक वर्षैपिच्छे करका दर परिवर्तन हुनु राम्रो नभएको उल्लेख गरे । बजेटमा नीति परिवर्तन गर्दा त्यसको बाहिर प्रभाव मूल्याङ्कन र लगानीलाई प्रोत्साहन हुनेगरी गर्न आवश्यक रहेको बताए ।सरकारले जानाजान करका दर परिवर्तन गरेको भए परिमार्जन हुनु पर्ने उनको भनाइ छ ।

‘कुनै पनि नीति परिवर्तन गर्दा सरकारले त्यसको बाहिर प्रभाव कस्तो पर्छ भनेर लगानीलाई प्रोत्साहन हुनेगरी गर्नुपर्छ,’ उनले भने, ‘सरकारको आर्थिक विधेयकमा करका दर एक्कासी परिवर्तन गर्न दिर्घकालिन असर पर्छ । निजी क्षेत्रले बजेट सुुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा बिरोध गर्ने प्रचलन छ । सरकारले बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर पछि आर्थिक विधेयकमा लेख्ने नम्बर निजी क्षेत्रले सोचेको भन्दा उल्टो आउने गरेको छ ।’