बैंकिङ्ग समाचार, काठमाडौँ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई आधार मान्ने हो भने विश्व विजेता अर्जेन्टिना राष्ट्रिय टोलीबाट फुटबल खेल्ने मेस्सीको खुट्टाको मात्रै ९०० मिलियन अमेरिकी डलरको बीमा छ । बार्सिलोनाबाट आफ्नो खेल जिवन सुरु गरेका मेस्सी देब्रे खुट्टे जादुयी खेलाडी मानिन्छन् । उनकै जादुमयी प्रदशर्नका आधारमा अर्जेन्टिनाले सन् २०२२ को फुटबल विश्वकपको उपाधि चुमेको थियो ।
यो पनि
स्पोर्टस ब्रिफ डटकमले सन् २०२२ नोभेम्बरमा लेखेको एउटा रिपोर्टअनुसार मेस्सीको देब्रे खुट्टाको बीमा नै ९०० मिलियन डलरको हो । र, यो पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो र बेलायतका पूर्व फुटबलर डेबिड बेकह्यामकोभन्दा कयौं गुणाले बढी हो । किनकी, रानाल्डोको खुट्टाको ९९ मिलियन डलरको बीमा छ भने बेकह्यामको खुट्टाको १५० मिलियन डलरको बीमा छ ।
यसबाहेक, विश्वका अन्य खेलाडीहरुले आफ्नो बीमामा भरपुर पैसा खर्च गर्ने गरेका छन् । अमेरिकी बास्केटबल खेलाडी, फुटबल खेलाडी, अमेरिकी फुटबल खेलाडीको समेत मिलियन डलरमा बीमा हुने गरेको छ । हुन, त यी देशमा व्यवसायीक खेल प्रतियोगिता भएकाले पनि खेलाडीले आफ्नो शरिरका विभिन्न भागहरुको बीमा गर्न सक्छन् । साथै, आबद्ध कम्पनीहरुले समेत आफ्ना खेलाडीको बीमा गरिदिएका हुन्छन् ।
यो पनि
विकासित मुलुकको तुलनामा नेपालजस्ता विकाशसील तथा अतिकम विकसित मुलुकमा कुनै पनि खेलमा व्यवसायीक्ता हुँदैन । विकाशसील र अतिकम विकसित मुलुकमा व्यवसायीक खेलमात्र नभई निर्वाहमूखी खेल प्रतियोगिता समेत हुँदैनन् । बेलाबखत हुने पटके खेल प्रतियोगितामै खेलाडी र क्लब रमाउनुपर्ने गरेको दृष्टान्त हामिले देख्दै आइरहेका छौं । यस्तो अवस्थामा खेल जीवन र खेलाडीलाई लक्षित गरेर बीमाका योजना आउन सकेका छैनन् । तर, खेलाडीलाई लक्षित गरेर बीमाका योजना नआउनुमा व्यवसायीक खेल प्रतियोगिता नहुनु मात्रै मूख्य कारण भने पक्कै होइन । अव्यवसायीक खेल प्रतियोगिता हुँदा पनि बीमाको न्यूनतम मूल्य तिर्न नसक्ने अवस्थामा देशका खेलाडी छैनन् । बरु, खेलाडीले बीमा गर्न सक्छन् र उनीहरुलाई पनि बीमाको दायरामा समेट्नुपर्छ भन्नेमा नियामक र स्वंम कम्पनीहरुले ध्यान पुर्याउन सकेका छैनन् ।
बीमा प्राधिकरणले यस विषयमा आफ्नो बौद्धिक क्षमतमा घुमाउन सकेको छैन भने बीमा कम्पनीहरुलाई समेत खासै चासो देखिँदैन । यसका साथै, खेलकुद क्षेत्रका तालुकदार मन्त्रालय, बोर्ड, संघ, समिति लगायतका निकायले समेत खेलाडीको बीमाका योजना बनाउने र यसलाई कार्यान्वयन गर्न बीमा प्राधिकरण र कम्पनीहरुलाई सुझाउन सकेका छैनन् ।
यो पनि
जसकारण, खेल मैदानमा खेल्दैगर्दा घाइते भएमा र चोटपटक लागेमा उपचार नै गर्न नसक्ने स्थितीबाट खेलाडी गुर्जन्छन् । यसको पछिल्लो दृष्टान्त राष्ट्रिय टोलीका स्ट्राइकर बिमलघर्ती मगरलाई लागेको चोटलाई लिन सकिन्छ । खेल्नेक्रममा उनको लिगामेन्ट च्यातिँदा उपचार गर्न लाग्ने खर्च कतार सरकारसँग सहयोग मागिएको थियो । र, उनको उपचार पनि कतारमै गरिएको थियो । नेपालका सरोकारवाला निकाय खेल क्षेत्रलाई बीमाको दायरामा समेट्न ध्यान केन्द्रीत गरेको भएमा देशका राष्ट्रिय टोलीका सदस्य घाइते हुँदा विदेशी मुलुकसँग उपचार खर्च सहयोग माग्नुपर्ने थिएन् ।
यो पनि
यद्यपी, पछिल्लो समय बीमा प्राधिकरणले खेलाडी र खेल क्षेत्रलाई बीमाको दायरामा समेट्ने गरी योजना बनाएको सुन्नमा आएको छ । यदी यो सत्य हो र नियामक निकाय गम्भिर बनेर खेल क्षेत्रलाई बीमाको दायरामा ल्याउनतर्फ लागेको भए यो स्वागतयोग्य छ । बीमा कम्पनीहरुसँगको सहकार्यमा चाँडै खेल क्षेत्र र खेलाडीलाई बीमाको दायरामा समेट्न सकेमा कम्पनीहरुको व्यवसाय समेत बढ्ने र बीमाको दायरा समेत फराकिलो बन्नेमा दुई मत छैन । यस्तै, खेलाडीले खेल क्षेत्रमा लागेकै कारण उपचार खर्च समेत जुटाउन नसक्ने डरले पलायन हुनुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ ।
आफ्नो भविष्य असुरक्षित नै रहेको अवस्थामा समेत नेपालमा हजारौंको संख्यामा खेलाडी छन् । यस्तै, विभिन्न ५० भन्दा धेरै खेलले राष्ट्रिय मान्यता पाएका छन । यी खेल खेल्नेक्रममा मैदानमा बेहोस हुने, शारिरिक चोटपटक लाग्ने र मृत्यू भएको अवस्थामा आवश्यक उपचार खर्च तथा परिवारलाई बीमाको रकम आउने व्यवस्था गर्न ढिला गर्नुहुन्न । जसले खेल क्षेत्रलाई आफ्नो भविष्य मानेर देशका लागि खेल्न मैदान उत्रने थप खेलाडीले पलायन हुन नपरोस् ।
प्रतिक्रिया