बुटवल –राजस्व अनुसन्धान विभाग अन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले राजस्व चुहावट सम्बन्धी मुद्दामा दुई जना व्यक्तिविरुद्ध रुपन्देही जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । भारतको पन्जाबस्थित अमृत शहर निवासी कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का रामबहादुर बि.क.ले भन्सार प्रज्ञापन तथा आवश्यक कागजातबिनै भन्सार चोरी गरी सुनका गरगहनाहरूको कारोबार गरेको आरोपमा उनीहरूमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।
मुख्य आरोपी कुलदिप सिंहले एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ ३० पैसा बराबरको भन्सार छली सुन कारोबार गरेका थिए । ऐनको दफा २३ (१) अनुसार उक्त गरगहना जफत गरी सो बराबरको जरिवाना साथै कैद सजायको माग पनि अभियोग पत्रमा गरिएको छ । उक्त कार्यमा सहभागी रहेर मतियारको भूमिका खेलेका रामबहादुर बि.क.लाई ऐनको दफा २३ (३) अनुसार आधा सजाय माग गरिएको छ । उनलाई लगाइएको जरिवाना रकम ५२ लाख ५४ हजार २०६ रुपैयाँ कायम गरिएको छ ।
दुवै प्रतिवादीमाथि माग गरिएको कुल जरिवाना तथा सजाय रकम दुई करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ पुगेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख घिमिरेका अनुसार, देशभित्र भन्सार चोरी तथा राजस्व छल्ने गतिविधिहरूविरुद्ध जारी अभियानअन्तर्गत यो मुद्दा महत्त्वपूर्ण सफलता हो । राजस्व प्रणालीमा विश्वास कायम राख्न र आर्थिक अनुशासन सुनिश्चित गर्न यस्ता कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन अनुसन्धान कार्यालय प्रतिबद्ध रहेको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताए ।






About Us
प्रतिक्रिया