प्रिमियममा शिखर इन्स्योरेन्सलाई पछ्याउँदै मर्जरमा गएका बीमा कम्पनी

प्रिमियममा शिखर इन्स्योरेन्सलाई पछ्याउँदै मर्जरमा गएका बीमा कम्पनी


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार  निर्जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीमध्ये अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले गत बैशाखसम्ममा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको बैशाखको तुलनामा ७.१४ प्रतिशतले बढी हो । शिखरले २०७९ बैशाख मसान्तमा ४ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

शिखरलाई मर्जरमा गएका कम्पनीहरुले पछ्याइरहेका छन् । अर्थात बीमाशुल्क संकलनको आधारमा शिखरको पछिपछि अधिकांश मर्जरमा गएका कम्पनी रहेका छन् । सबैभन्दा बढी प्रिमियम संकलन गर्नेको दोश्रो स्थानमा सगरमाथा लुम्बिनी, तेश्रोमा सिद्धार्थ प्रिमियर, चौथोमा आइजीआई प्रुडेन्सियल र पाँचौमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यीमध्ये तीन कम्पनीको बिजनेस अघिल्लो वर्षको तुलनामा घटेको छ भने आइजीआई प्रुडेन्सियलको बढेको छ । हालै साविकको आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई बनेको आइजीआई प्रुडेन्सियलले गत बैशाखसम्ममा कूल २ अर्ब ७० करोड रुपैयाँ बिजनेश गरेको छ ।

त्यस्तै, नेको र राष्ट्रिय बीमा कम्पनीले २ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये राष्ट्रिय बीमा कम्पनी प्रिमियम संकलनमा आक्रामक देखिएको छ । जसको प्रिमियम गत आ.वको बैशाखको तुलनामा ३६.६७ प्रतिशतले बढेको छ । जुन प्रतिशतको आधारमा अन्य कम्पनीको तुलनामा बढी हो ।
राष्ट्रिय बीमा कम्पनीपछि अजोड इन्स्योरेन्स बिजनेसमा सबैभन्दा बढी एग्रेशिभ बनेको छ । अजोडले समीक्षा अवधिमा २७.९५ प्रतिशतले बढेको छ । त्यस्तै, सानिमा जिआईसीको १६.०२ प्रतिशत, नेशनलको १०.५६ प्रतिशतले बिजनेस बढेको छ ।

नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीच प्रिमियममा कडा टक्कर देखिएको छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले एक अर्ब २७ करोड १७ लाख र प्रभु इन्स्योरेन्सले एक अर्ब २७ करोड १० लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । नेपाल इन्स्योरेन्सले १.३४ प्रतिशतले बिजनेस घटाएको छ भने प्रभुले ८ प्रतिशतले बढाएको छ ।
समग्रमा अधिकांश कम्पनीको बिजनेस बढेको छ भने ५ वटा कम्पनी बिजनेस घटेको छ । बिजनेस घट्नेमा सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, नेपाल र युनाइटेड इन्स्योरेन्स रहेका छन् । जसमध्ये युनाइटेड इन्स्योरेन्सको बिजनेस ९.९१ प्रतिशतले घटेको छ ।

रकमको आधारमा सबैभन्दा कम प्रिमियम संकलन गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ । अन्य कम्पनीले अर्ब बढी प्रिमियम संकलन गर्दा नेशनलले बैशाखसम्ममा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको बिजनेस गरेको छ ।
समग्रमा बीमा कम्पनीहरुले गत बैशाखसम्ममा ३२ अर्ब ६८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ४.७८ प्रतिशतले बढी हो । २०७९ बैशाखसम्ममा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।