वडा सदस्यसहित दुई जनाविरुद्ध २ लाख  घुस प्रकरणमा मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कास्की, पोखरा महानगरपालिका वडा– ९ का तत्कालीन वडा सदस्य तथा न्यायिक समिति सदस्य भावना श्रेष्ठसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा घुस सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार पोखरा–२६ स्थित बाटोको निकाससम्बन्धी विवादमा निर्णय आफ्नो पक्षमा पार्नका लागि निवेदक रविन कुमार श्रेष्ठले न्यायिक समिति सदस्य भावना श्रेष्ठलाई दुई लाख घुस बुझाएको अनुसन्धानबाट पुष्टि भएको हो। अनुसन्धानमा स्थापित भएअनुसार, भावना श्रेष्ठले राष्ट्रसेवकको हैसियतमा रही न्यायिक समितिमा विचाराधीन विवादमा रविन कुमार श्रेष्ठको पक्षमा निर्णय गराउने सर्तमा सो रकम घुस स्वरूप लिएको पाइएको आयोगले जनाएको छ। 

यसरी लिइएको रकमसमेत जफत हुनुपर्ने मागसहित आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गर्दै आरोप पत्र दायर गरेको हो। त्यस्तै, निवेदक रविन कुमार श्रेष्ठले समेत सो विवादमा आफ्नो पक्षमा फाइदा पुग्ने गरी निर्णय गराउनका लागि २ लाख  घुस दिएको प्रमाणित भएकाले उनलाई समेत सोही ऐन बमोजिम कैद, जरिवाना र बिगो कायम गरी सजाय माग दाबी गरिएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिले घुस माग्ने वा सेवाग्राहीले दिने दुवै कार्य कानूनविरुद्ध भएको भन्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कठोर कारबाही गर्ने चेतावनी दिएको छ।