कैलालीका वरिष्ठ वन अधिकृत यादवविरुद्ध ७ लाख ३१ हजार घुस प्रकरणमा मुद्दा दायर


काठमाडौं – डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले जिल्ला कैलाली, चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जी प्रक्रियाका लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिएको उजुरी प्राप्त भएपछि आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा यादवले सेवाग्राहीसँग सोही रकम घुसका रूपमा असुल गरेको प्रमाणित भएको आयोगले जनाएको छ। यस आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा यादवविरुद्ध बिगो कायम गरी कैद र जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।