सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनामाथि भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसहित १२ जनाविरुद्ध भष्टचार मुदा दायर गरेको छ । सोरु गाउँपालिका –१ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा अनियमितता गरी सरकारी रकम दुरुपयोग गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको हो । 

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण योजनामा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गरी ७ लाख ६ हजार को गैरकानूनी लाभ लिएको प्रमाण भेटिएको हो।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३६ लाख ४० हजार रुपैयाँ अनुदान तथा  ३ लाख ७३ हजार जनश्रमदानसहित कुल लागत ४० लाख १३ हजार रुपैयाँ अनुमान गरिएको योजनामा २०७८ जेठ १० गते सम्झौता गरिएको थियो। तर कार्य सम्पन्न प्रतिवेदन र नापी किताबमा वास्तविकताभन्दा बढी कार्य भएको देखाएर भुक्तानी लिइएको आयोगले जनाएको छ।

स्थलगत अनुगमन गर्दाउत्खनन, ढुङ्गा सोलिङ्ग, सडक स्थल पिपिसि (१ः२ः४) र सुख्खा ढुङ्गा चिनाईमा माटोको कामजस्ता संरचनामा क्रमशः ३२.५२, ३२.५२, १६.२६ र ५.९५ एम ३ बढी कार्य भएको देखाई रकम हिनामिना गरिएको प्रमाणित भएको आयोगले जनाएको छ । 

उक्त अनियमिततामा संलग्न भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक इन्जिनियर, वडा अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदाबी गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।