ब्याज आम्दानी नबढेपनि बढ्यो बैंकहरुको नाफा, गभर्नर लचिलो बन्दा कमाए ७१ अर्ब


काठमाडौं – सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा, १६ वटा बैंकको नाफा बढेको छ भने ४ वटा बैंकको नाफामा गिरावट आएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकहरुको ७१ अर्ब नाफा आर्जन गरेका छन् । जबकी आर्थिक वर्ष २०८०/८१ मा ४९ अर्ब मात्रै नाफा आर्जन गरेका थिए ।

नेपाल राष्ट्र बैंकले गरेको असल कर्जामा गरिने नोक्सानी व्यवस्था (प्रोभिजन) सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा यतिको सुधार देखिएको हो । राष्ट्र बैंकले असल कर्जामा कर्जा नोक्सानी व्यवस्था घटाएर बैंक तथा वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गरे हुने हुनेगरी केन्द्रीय बैंकले नयाँ नीति लिएको थियो ।

यही नीतिको प्रभाव बैंकहरुको नाफामा समेत देखिएको छ । यद्यपी, यो मात्रै भने बैंकहरुको नाफा सुधार हुनुको मूख्य कारण भने होइन । केन्द्रीय बैंकले यसअघि असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने बाध्यत्मक व्यवस्था कायम गरेको थियो । गभर्नरमा डा. विश्वनाथ पौडेल आउनसाथ यही नीतिगत व्यवसथामा लचिलो बनेका थिए ।

सो समयमा केन्द्रीय बैंकले कुनै कर्जाको ‘ग्रेस’ अवधि ४ वर्ष रहेको कर्जाका लागि पहिलो वर्ष ०.२७५ प्रतिशत, दोस्रो वर्ष ०.५५ प्रतिशत, तेस्रो वर्ष ०.८२५ प्रतिशत र चौथो वर्षदेखि १.१० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको यही व्यवस्थाले बैंकहरुको कर्जामा हुने खर्च घटाएर राखिएको ‘प्रोभिजन’ फिर्ता हुँदा नाफामा सुधार देखिएको हो ।

तर, सार्वजनिक वित्तीय विवरणअनुसार नाफा बढेको देखिएपनि बैंकहरुको मूख्य आम्दानीको स्रोतमा भने उल्लेख्य सुधार देखिएको छैन । २० मध्ये ८ वटा बैंकको ब्याज आम्दानी खुम्चिएको छ । जबकी, अन्य बैंकको ब्याज आम्दानी समेत उल्लेख्य बढेको छैन । यस अवधिमा ग्लोबल आईएमई, एनआईएमबी र लक्ष्मी सनराइजको खुद ब्याज आम्दानी घटेको छ । यसबाहेक, एनआईसी एशिया, हिमालयन, कृषि विकास, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकको समेत ब्याज आम्दानी खुम्चिएको छ ।

खुद ब्याज आम्दानीमा नै गिरावट आउँदा एनआईसी एशिया बैंक, सिटिजन्स बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने नाफामा पनि गिरावट आएको छ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौड्याल बैंकहरुको व्यवसायको मात्रा घट्दा नाफा प्रभावित हुने बताउँछन् । उनले पछिल्लो एक वर्षदेखि बैंकहरुको ‘स्प्रेडरेट’ क्रमिकरुपमा घट्दा ब्याज आम्दानी खुम्चिएको बताए ।

ब्याज आम्दानी घटेपनि बैंकहरुबाट प्रवाहित कर्जाको ‘रिकभरी’ बढ्दा नाफामा सुधार देखिएको हो । केन्द्रीय बैंकले २ करोडसम्मका निर्देशित कर्जाको पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको थियो । जसकारण, रिकभरीमा सहजीकरण भएको बैंकरहरु बताउँछन् । यसबाहेक, गत वर्षको वित्तीय विवरणमा साउन १५ गतेसम्म उठ्ने कर्जाको असुलीको तथ्यांक राख्न पाउने व्यवस्था गरिएको थियो ।

यो व्यवस्थाका कारण समेत बैंकहरुको रिकभरीमा सुधार आएको थियो । जुन व्यवस्थाका कारण पनि बैंकहरुको नाफा सुधारिएको अध्यक्ष पौड्याल बताउँछन् । यीनै व्यवस्थाका कारण गत आर्थिक वर्षका अन्य त्रैमासको तुलनामा चौथो त्रैमासको तथ्यांक सुधारिएको देखिएको छ ।

घटेन खराब कर्जा

यता, नेपाल राष्ट्र बैंकले निर्देशित कर्जाको पनि पुन पुनरसंरचना गर्न सकिने व्यवस्था गर्दा बैंकहरुको खराब कर्जा (एनपीएल) मा पनि सुधार हुनसक्ने अपेक्षा गरिएको थियो । तर, यो अवधिमा बैंकहरुको खराब कर्जा दर बढेको छ । बैंकहरूको खराब कर्जा साढे ७ प्रतिशत हाराहारी पुगेको छ । एक वर्षमा बैंकहरूको एनपीएल ०.४८ प्रतिशतले बढेर ७ प्रतिशत हाराहारी पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको औषत एनपीएल ३.७३ प्रतिशत थियो ।

गत वर्ष १३ वटा बैंकको खराब कर्जा बढेको छ भने ७ वटा बैंकको घटेको छ । गत वर्ष खराब कर्जा घटाउन सफल बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, लक्ष्मी सनराइज, एभरेष्ट, नबिल र माछापुच्छ्रे बैंक रहेका छन् । यता खराब कर्जा बढ्ने बैंकहरुको सूचीमा एनआईसी एशिया, हिमालयन, नेपाल एसबीआई र सानिमा बैंक छन् । यस्तै, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, ग्लोबल आइएमई, कुमारी, सिद्धार्थ, एनएमबि, नेपाल र प्रभु बैंक रहेका छन् ।