मोबाइल वालेटको प्रयोगसँगै बढ्न थाल्यो ठगी, ‘फिसर’को निसानामा पढेलेखेका प्रयोगकर्ता


काठमाडौं – मोबाइल वालेटको दुरुपयोग गरेर सर्वसाधारण ठग्ने क्रम बढेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार ‘ह्याकर’ले मोबाइल वालेटको दुरुपयोग गरेर सर्वसाधारणलाई ठग्नेक्रम बढ्दै गएको छ। मोबाइल बैंकिङ्ग र मोबाइल वालेटको प्रयोग बढ्दै गएसँगै ह्याकरको सक्रियता समेत बढ्दा सर्वसाधारण ठगिने क्रम बढेको हो।

नेपाल जस्तो विकासशील र न्यून साक्षरता भएको देशमा मोबाइल वालेटको प्रयोगबाट आपराधिक क्रियाकलाप समेत भइरहेका छन् । मोबाइल वालेटको सामान्य ज्ञान समेतको अभावले गर्दा यसको दुरुपयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । नेपालमा सबैभन्दा बढी प्रयोगकर्ता भएको वालेट कम्पनीहरूमा इसेवा र खल्ती छन् ।

पछिल्ला तिन आर्थिक वर्षमा इसेवाबाट ठगी हुने ५ सय ६१ वटा र खल्तीबाट ठगी हुने १ सय ५१ वटा उजुरी साइबर ब्युरोमा आएको छ ।

यस्तै, यी कम्पनीको प्रयोगकर्ता मात्र बढी नभई यसको माध्यमबाट ठगी हुनेको संख्या समेत व्यापक रहेको साइबर ब्युरोको भनाइ रहेको छ । अशिक्षितहरू वर्गले यस्ता वालेटहरूको प्रयोग नगर्ने भएकाले शिक्षित र पढेलेखेका युवा नै ‘फिसर’को टार्गेटमा पर्ने गरेका छन् । धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ता, स्मार्ट फोन प्रयोगकर्ताहरू मात्र वालेट ठगीको समस्यामा पर्ने गरेको प्रहरीको अध्ययनले देखाउँछ ।

साइबर ब्युरोका अनुसार मोबाइल वालेट सम्बन्धी ठगीका सयौँ उजुरी दर्ता भएका छन् । ब्युरो डिआइजी जनार्दन घिमिरेका अनुसार स्क्यामरहरूले प्रायः जागिर खोज्दै हिँडेका सर्वसाधारणलाई प्रयोग गरी अरू प्रयोगकर्ताको ओटिपि कोड, पिन नम्बर वा पासवर्ड संकलन गरेर ठगी गर्ने गरेका छन् । ‘मुख्य योजनाकारले जागिरका लागि भौँतारिएका व्यक्तिलाई फसाएर अरूको वालेट ह्याक गर्न प्रयोग गर्छन्,’ उनले भने, ‘यसरी योजनाबद्ध तरिकाले रकम तह–तहमा सारेर ठगी गर्ने गरेकाले मुख्य दोषीसम्म पुग्नै गाह्रो भइरहेको छ ।’

नेपाल जस्तो विकासशील र न्यून साक्षरता भएको देशमा मोबाइल वालेटको प्रयोगबाट आपराधिक क्रियाकलाप समेत भइरहेका छन् । मोबाइल वालेटको सामान्य ज्ञान समेतको अभावले गर्दा यसको दुरुपयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् ।

स्क्यामरले वालेट प्रयोगकर्ताबाट ओटिपि नम्बर, पिन नम्बर वा वालेटको पासवर्ड झिकेर ठगी गर्ने गर्छन्। विशेषगरी फेसबुक मार्फत अनलाइन सामान बेच्ने बहानामा, अनलाइन लटरी वा पुरस्कार जितेको भनेर रकम भुक्तानी गराउनुपर्ने बहानामा ठग्ने क्रम बढेको छ । यसबाहेक, परिवारका सदस्यलाई तत्कालै रकम पठाउनुपर्छ भन्दै मोबाइल वालेटको ओटिपि माग्ने जस्ता घटनाहरूको उजुरी ब्युरोमा आउने गरेका छन् । प्रयोगकर्ताहरूमा सचेतना नपुगेका कारण आफ्नो वालेटमा भएको रकम सजिलै गुमाइरहेका सरोकारवालाहरूको भनाइ छ ।

वालेट कम्पनीबाट बोलेको भनेर फोन गर्दै फेक अकाउन्ट बनाएर ठगी गर्ने गरेको घटनाहरू ब्युरो आउने गरेको छ । घिमिरेले भने, ‘ सुरुमा सर्वसाधारणसँग विभिन्न सामाजिक सञ्जालका माध्यमबाट कुराकानी गरी नजिकिएर सर्वसाधारण मोबाइल वालेट ह्याक गर्ने प्रचलन समेत बढेको छ ।’ र, ह्याक गरिएको खाताको रकम तह–तहमा गरी अन्य खातामा राख्ने हुँदा दोषीसम्ममा आइपुग्दा क्यास मात्र आइपुग्ने गरेकाले अनुसन्धान मा कठिन भइरहेको प्रहरीको निष्कर्ष छ ।

पछिल्ला तिन आर्थिक वर्षमा इसेवाबाट ठगी हुने ५ सय ६१ वटा र खल्तीबाट ठगी हुने १ सय ५१ वटा उजुरी साइबर ब्युरोमा आएको छ । मोबाइल वालेट इसेवालाई माध्यम बनाएर ठगी गरिएका घटनाहरू आर्थिक वर्ष (आव) २०७९/२०८० मा ६० वटा घटना साइबर ब्युरोमा आएको थियो भने आव २०८०/२०८१ इसेवाबाट ठगिनेहरूको संख्या बढेर २३३ वटा पुगेको थियो । आव २०८१/२०८२ मा २६८ वटा घटना ब्युरोमा इसेवाबाट ठगिएको परेको थियो ।

विशेषगरी फेसबुकमार्फत अनलाइन सामान बेच्ने बहानामा, अनलाइन लटरी वा पुरस्कार जितेको भनेर रकम भुक्तानी गराउनुपर्ने बहानामा ठग्ने क्रम बढेको छ ।

त्यस्तै, आव २०७९/२०८० मा खल्तीको माध्यमबाट ठगिएको १२ वटा उजुरी ब्युरोमा दर्ता भएको थियो । आव २०८०/२०८१ मा ७१  वटा उजुरी खल्तीबाट ठगिएको आएको थियो । जसमा २४ वटा उजुरीका घटना जारी नै थिए भने ४७ वटा उजुरी समाधान भइसकेको प्रहरीको भनाइ छ । आव २०८१/२०८२ मा ब्युरोमा ६८ वटा घटना दर्ता भएका थिए ।