९६ लाख ८५ हजार भ्रष्टाचार गरेको आरोपमा पर्यटन मन्त्रालयका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध मुद्दा


काठमाडौं – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सि.डि.ई) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । आयोगले यादवविरुद्ध ९६ लाख ८५ हजार गैरकानूनी सम्पत्ति आर्जन तथा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेकाे हाे।

अख्तियारका अनुसार यादवले २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको सेवाकालमा पाएको वैधानिक आम्दानीभन्दा धेरै खर्च तथा लगानी गरेको पाइएको छ । अनुसन्धानमा यादव र उनका परिवारले सो अवधिमा तलब, भत्ता, बीमा रकम, घर भाडा, जग्गा बिक्री, कृषि आय, बैंक ब्याज, शेयर बिक्रीलगायतबाट कुल २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा आम्दानी गरेको देखिएको छ ।

तर, सोही अवधिमा घरजग्गा खरिद, घर निर्माण, ऋण भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, बीमा प्रिमियम, बैंक मौज्दातलगायत शीर्षकमा कुल ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी भएको पाइएको हो। यस आधारमा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि हुन नसकेकाले यादवले सार्वजनिक पदमा रही गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगले जनाएको छ। अख्तियारले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम कैद र बिगो बराबरको जरिवानाको मागदाबी गरेको छ। 

२०४८ को दफा २९ख। बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवं निजले वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेकोसमेत पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा कैद जरिवाना हुन मागदावी लिइएको छ। साथै, यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको प्रमाणित भएको भन्दै सो सम्पत्ति जफत गर्न उनीविरुद्ध पनि प्रतिवादी कायम गरिएको छ।