वैदेशिक रोजगारीको नाममा ४ करोड १७ लाख ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीको नामका ठगी गर्ने एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बंगुल नगपालिका –६ घर भई हाल काठमाडौंको  बुढानिलकण्ठ नगरपालिका –९  बस्ने गरेका एनएएन मेरीटाएम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक २९ वर्षीय त्रिलोक सिंह रहेका छन् । 

उनले वैदेशिक रोजगारीको नामका ६६ जनाबाट ४ करोड १७ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  सर्वसाधारणलाई ठगी गरी उनी कास्की जिल्लाको शिशुवा वडा एरियामा लुकीछिपी बसेको भन्ने गोप्य सूचना प्राप्त भएपछि  इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको प्रहरीको समन्वयमा उनलाई पक्राउ गरिएको हो । 

डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। उनलाई कास्कीको पोखरा महानगरपालिका–२७ डाँडाकोनाक स्थितमा फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।