‘ब्लू चिप’ कम्पनी युनिलिभरको नाफामा सुधार, लाभांश क्षमता कति ?


काठमाडौं – युनिलिभर नेपाल लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको तथ्यांकअनुसार नाफामा सामान्य सुधार आएको हो । यस अवधिमा कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार १ अर्ब ९६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा भने ४७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले राज्यकोषमा कर बुझाउनु अघि भने २ अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । राज्यकोषमा ४६ करोड रुपैयाँ कर बुझाएको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ४१ करोड रुपैयाँ कूल आम्दानी गरेको थियो ।

जसमध्ये ८ अर्ब २४ करोड रुपैयाँ उत्पादित वस्तु बिक्री बापत आर्जन गरेको छ । यसबहेक, अन्य आम्दानीबापत १६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । यता खर्चतर्फ भने कम्पनीले कूल ५ अर्ब ९८ करोड रुपैयाँ खर्च गरेको छ ।

जसमा कच्चा पदार्थको खरिदमा ३ अर्ब ७५ करोड रुपैयाँ, कर्मचारीमा ६१ करोड ७५ लाख, डिप्रिसियसनबापत ३१ करोड ३१ लाख रुपैयाँ खर्च हुँदा फाइनान्सबापत ४ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, १ अर्ब २५ करोड रुपैयाँ अन्य शीर्षकमा खर्च भएको कम्पनीले जनाएको छ ।

विदेशी लगानीमा सञ्चालित युनिलिभर नेपालले ‘ब्यूटी प्रडक्ट’ उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी ५१६ रुपैयाँ रहेको छ । गत वर्ष प्रतिशेयर आम्दानी ५३८ रुपैयाँ थियो । यस्तै, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१३१ रुपैयाँ छ । जुन, अघिल्लो वर्ष २१२३ रुपैयाँ थियो ।

यस्तै, पीई रेरियो २१.७५ छ भने प्रतिशेयर नेटवर्थ ५ हजार ६६५ रुपैयाँ छ । जुन, अघिल्लो वर्ष ५ हजार २६४ रुपैयाँ थियो । यो कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ‘ब्लूचिप’ हो । नेप्सेमा सूचीकृत सबै कम्पनीमध्ये युनिलिभर नेपालको सबैभन्दा बढी शेयर मूल्य छ । हाल नेप्सेमा यस कम्पनीको शेय मूल्य प्रतिकित्ता ४८ हजार रुपैयाँ हाराहारी छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।