वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ९१ लाख ठगी गर्ने चार जना प्रहरीको फन्दामा 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राख्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका– ५ घर भएकी ४३  वर्षीया अञ्जु कोईराला,  भक्तपुरको भक्तपुर नगरपालिका– १० घर भएका १९ वर्षीय आभास कोइराला,  रामेछापको उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १ बस्ने ३० वर्षीया चित्र कुमारी बस्नेत र दाङको तुलसीपुर उपमहानगरपालिका– १२ घर भई हाल  काठमाडौं महानगरपालिका– १५ बस्ने ४९ वर्षीय सुनिल विक रहेका छन् । 

पक्राउ पर्नेहरू मध्यमा कोइरालाले माल्टा पठाइदिन्छु ३ जनालाई ठगी गरेका थिए । त्यस्तै, पक्राउ परेका आभास कोइरालाले विभिन्न देश पठाइदिन्छु भन्दै १३ लाख, बस्नेतले ३ जनालाई मौरिसस पठाइदिन्छु  भन्दै २२ लाख र  विकले ४ जनालाई अमेरिका पठाइदिन्छु  भन्दै ५६ लाख १५ हजार ठगी गरेको प्रहरीले जनाएको छ । 

विकलाई पक्राउ गरी अनुसन्धान गर्दा उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दा २ वटा मुद्दामा ४१ लाख बिगो, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा ठगी सम्बन्धी कसुर मुद्दा ५ लाख बिगो र इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा ठगी सम्बन्धी कसुर मुद्दा १० लाख १५ हजार बिगो  समेतमा पक्राउ अनुमति प्रदान भई आएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।