ललितपुरको एक स्कुलको बैंक खाताबाट १४ लाख बढी अपचलन गर्ने लेखापाल पक्राउ 


काठमाडौं – काठमाडौं महानगरपालिका–१३ बाफलमा रहेको रुपिज इन्टरनेशनल स्कुलको आर्थिक कारोबारमा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका– बस्ने ३९ वर्षीय क्षितिज श्रेष्ठ रहेका छन् । 

स्कुलको लेखा शाखाको जिम्मा लिएका श्रेष्ठले  नबिल बैंकमा स्कुलको नाममा रहेको खाताबाट १४ लाख ८० हजार रुपैयाँ अनधिकृत रूपमा निकालेर सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार उनले आर्थिक कारोबारको लागि स्कुलको नाममा रहेको  नबिल बैंकको चेकमा रुपेन्द्र कौरले हस्ताक्षर गरेको खाली चेकमा मिति,नाम,अंक अक्षर समेत उल्लेख गरी चेक सटही गरी लाभ लिई सम्पर्क विहीन भएका हुन् ।

उनीविरुद्ध काठमाडौ जिल्ला अदालत बबरमहलले २०८२ साउन १५ गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ताहाचल क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । श्रेष्ठलाई आपराधिक विश्वासघात र ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।