काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (साउन २६) गते अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको हो। जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात् सुदूर पश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं.६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७० र वडा नं.७० साविक कफल्सेरी गाविस वडा नं.१०) का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात् बझाङ जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया