सामाजिक सञ्जालसँगै फस्टाउँदैछ ‘स्क्याम’, फेसबुकबाट ठगिन्छन् सबैभन्दा धेरै


काठमाडौं – सामाजिक सञ्जालको विकासले जनजीवनलाई सहज र छरितो बनाइदिएको छ । सूचना आदानप्रदान, व्यवसाय प्रवर्द्धनदेखि व्यक्तिगत सम्बन्धसम्ममा यसको भूमिका महत्त्वपूर्ण बन्दै गइरहेको छ। तर, यसका सकारात्मक पक्षसँगै नकारात्मक असरहरू पनि उत्तिकै देखिन थालेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूको प्रयोग गरी सर्वसाधारणहरूलाई लुट्नेहरू बढ्दै गइरहेका छन् ।

साइबर ब्युरोमा पछिल्लो समयमा १५ वटा शीर्षकमा उजुरी दर्ता हुने गरेका छन् । जसमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट हुने ठगी रहेको ब्युरोको तथ्यांकले खुलाएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा विशेष गरी आकर्षक अफर, अनलाइन व्यापार, नक्कली लट्री तथा विदेशमा आकर्षक रोजगारको नाममा ठगीका घटना बढी देखिएका छन् । जसकारण, सजिलै मुनाफाको प्रलोभनसँगै छिटो कमाइ वा विदेश पठाइदिने लोभमा परी सर्वसाधारण ठुलो रकम गुमाइरहेका छन् ।

‘जागिरको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दाे छ’ जनार्दन घिमिरे, प्रहरी नायब उपरीक्षक

प्रहरीको तथ्यांकअनुसार फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप, टेलिग्राम जस्ता प्लेटफर्मको दुरुपयोग गर्दै ठगी गर्ने क्रम तीव्र भएको हो । सामाजिक सञ्जालहरूको माध्यमबाट ठगी गर्ने व्यक्तिले सर्वसाधारणलाई नै अनलाइन जागिरको प्रलोभन देखाएर ठगी गर्ने गरेको पाइएको साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) जनार्दन घिमिरे बताउँछन् । उनका अनुसार मुख्य ठगले सर्वसाधारणलाई नै ठग्ने काममा प्रयोग गरी आफू पन्छने गर्ने गरेका छन् ।

सामाजिक सञ्जालमा फिसिङ लिङ्कहरू राख्ने, स्क्याम हुने किसिमका भ्रामक भिडियोहरू हाल्ने, डर र त्रास देखाई म्यासेज पठाएर रकम माग्ने गरिरहेका छन् । यसबाहेक, व्यक्तिगत सामाजिक सञ्जाल ह्याक गरी ठगी गर्ने घटनाहरूका उजुरीहरू ब्युरोमा दिनहुँ बढ्दै गएको घिमिरेले जानकारी दिए । सामाजिक सञ्जालहरूबाट ठगिएको भन्दै आउने अधिकांश उजुरी ‘अनलाइन सपिङ’का नाममा आउने गरेका छन् ।

ब्युरोको तथ्यांक अनुसार नेपालमा सामाजिक सञ्जालबाट हुने स्क्यामको अवस्था भयावह रहेको छ । साइबर ब्युरोमा आर्थिक वर्ष २०७९/२०८० मा १ हजार ८ सय १५ वटा ठगीका घटनाहरू उजुरी परेको थियो । आव २०८०/२०८१ मा ब्युरोमा पर्ने स्क्यामका घटनाहरूमा वृद्धि भएको थियो । ब्युरोको तथ्यांक अनुसार नेपालमा सामाजिक सञ्जालका मार्फतबाट ठगी गर्नेको संख्या तत्कालीन आवबाट ह्वातै बढ्दै गइरहेको खुल्न आएको छ । सो आवमा ४ हजार १ सय ३३ वटा स्क्यामका घटनाहरू घटेका थिए ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा नेपालमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट स्क्याम हुने एपमा फेसबुक छ । आर्थिक वर्ष २०७९/२०८० मा नै फेसबुकको माध्यमबाट १ हजार ३६ वटा घटना घटेको ब्युरोले जनाएको छ । आव २०८०/२०८१ मा फेसबुकबाट ठगीएको भन्दै १ हजार ९ सय ३९ वटा उजुरी ब्यूरोमा परेको थियो भने आव २०८१/२०८२ मा २ हजार ३१ वटा घटना घटेका थिए ।

आव २०७९/२०८० मा १९४ वटा इस्ट्राग्रामबाट स्क्याम भएको उजुरी परेको थियो । त्यो तथ्यांक आव २०८०/२०८१ मा ह्वातै बढेर ८३० वटामा पुगेको थियो भने आव २०८१/२०८२ मा इन्स्टाग्रामबाट १ हजार १७ वटा ठगिएको घटना ब्युरोमा दर्ता भएको थियो । ह्वाट्सएपबाट ब्ल्याकमेल र लट्री पर्‍यो भन्दै ठग्नेहरू पछिल्लो समयमा झनै बढ्दै गइरहेको ब्युरोको तथ्यांकले देखाएको छ ।

यस्तै, टिकटकका माध्यमबाट ठगी गर्नेहरूको सङ्ख्या पनि अहिले बढ्दै छ । आव २०७९/२०८० मा ३१ वटा र आव २०८०/२०८१मा ६६ वटा ठगीका घटना टिकटकका माध्यमबाट घटेको थियो । आव २०८१/२०८२ मा टिकटकका माध्यमबाट ठगीमा परेको भन्दै प्रहरीमा ५ सय ९ पुगे वटा उजुरी परेको थियो । यस्तै, इमो, भाइबर, युटयूव जस्ता माध्यमबाट समेत ठगिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । आव २०७९/२०८०मा ह्वाट्सएपका माध्यमबाट २२० घटना घटेको थियो, भने आव २०८०/२०८१मा ७१६ र आव २०८१/२०८२मा २०१९ वटा उजुरी ह्वाट्सएपबाट ठगीमा परेको भन्दै परेको थियो ।