पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  बाराको निजगढ नगरपालिका– १२ घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका– ३ बस्ने ४१ वर्षीय राम बहादुर थिङ र रामेछापको  रामेछाप नगरपालिका– ३ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ३ बस्ने ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन् । पक्राउ परेकामध्ये थिङले ६ जनालाई  पोर्चुगल  पठाइदिन्छु भन्दै २९ लाख र सुवेदीले १ जनालाई हंगेरी पठाइदिन्छु भन्दै दुई लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीहरूले भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ३ बाट पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।