कास्की यातायातका कार्यालय सहयोगी ७ हजार घुससहित पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेललाई पक्राउ गरेको छ । 

पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने,  लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले उनलाई  पक्राउ गरेको हो । 

पौडेललाई सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीमाथि सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरिदिने, लिखित परीक्षा पास गरिदिने र ट्रायल परीक्षामा समेत सहयोग गरिदिने भन्दै रकम माग गरेको आरोप छ। अनुसन्धानबाट पौडेलले अनुमति पत्रको म्याद नपुगी फारम भरी दिने, परीक्षामा पास गरिदिने र ट्रायलमा समेत सहयोग गर्ने भन्दै सेवाग्राहीसँग बदनियत पूर्वक घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ।

घटनाबारे अनुसन्धान पश्चात् अख्तियारले उनलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) बमोजिमको कसुरमा बिगो सात हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।